लोकभजन र चुट्का संरक्षणका लागि बागलुङसी जुटे

/ प्रकाशित मिति :
बुधबार, असार ४ २០८२

बागलुङ ४ असार– बागलुङ जिल्लामा लोकभजन र चुट्का लोप हुन थालेको अवस्थामा यसको संरक्षणका लागि बागलुङसी जुटेका छन् ।

लोकभजन र चुट्का लोप हुन थालेपछि बागलुङवासीले भजन संरक्षणमा चासो देखाउँदै राष्ट्रिय रूपमा जिल्लाको कला, संस्कृति चिनाउन नयाँ पुस्ता सफल भएका हुन् ।

गाउँमा परम्परागत तरिकाले पूजाआजामा मात्रै सीमित भजनमा पुस्तान्तरणको अभाव भएको अववस्थामा लोक भजन र चुट्का मार्फत स्थानीयले राष्ट्रिय रूपमा जिल्लाको कला, संस्कृति चिनाउन नयाँ पुस्ता सफल भएको समितिका अध्यक्ष टेकबहादुर केसी संगमले जानकारी दिनुभयो ।

भजन प्रतियोगिता गर्ने, पुस्तान्तरण गर्न तालिम प्रदान गर्ने तथा धार्मिक संस्थामा भजन समिति गठनले भजन संरक्षणमा टेवा पु¥याएको उहाँको भनाई थियो । सुरुमा भजनको संरक्षणका लागि जैमिनी भजन सङ्कीर्तन समूह स्थापना भएको र विसं २०७८ मा जिल्ला भजन समिति गठन भएपछि भजनको गतिविधि बढेको उहाँले बताउनुभयो ।

जिल्लामा ४७ वटा भजन समूह स्थापना भएर सक्रिय भइसकेको जानकारी दिदै जिल्ला भजन समितिका अध्यक्ष केसीले जिल्लास्तरीय भजन समिति गठन भएपछि धार्मिक प्रतिष्ठान तथा मठमन्दिरअनुसारका समूह गठन गर्ने, आपसी सहयोग बढाउने, वाद्यवादनका सामग्री खरिद गर्ने, अनुभव आदानप्रदान गर्ने र व्यावसायिक रूपमा भजन गाउने कामको थालनी गरिएको उल्लेख गर्नुभयो ।

पछिल्लो समय लोप हुने खतरा बढेपछि लोकभजन चुट्का संरक्षणका लागि भजनप्रेमी सङ्गठित भएर लागेका हुन् । लोकभजन चुट्का संरक्षणका लागि भजनप्रेमीले सङ्गठन विस्तारदेखि भजन प्रशिक्षण गर्दै पुस्तान्तरणको प्रयास थालेको कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।