भारतविरुद्ध पाकिस्तानद्धारा ४०० किलोमिटर हान्न सक्ने फतेह मिसाइल तैनाथ

/ प्रकाशित मिति :
शनिबार, बैशाख २७ २០८२

बागलुङ, २७ बैशाख–भारतविरुद्ध जारी सैन्य कारबाहीका क्रममा पाकिस्तानले ४०० किलोमिटर हान्न सक्ने आफ्नो फतेह मिसाइल तैनाथ गरेको छ।

पाकिस्तानको उन्नत फतेहका दुई संस्करण रहेको अलजजिराको रिपोर्टले जनाएको छ। जसलाई फतेह–१ र फतेह–२ भनिन्छ । सैन्य विज्ञहरूका अनुसार, फतेह–१ संस्करण छोटो दूरीको क्षेप्यास्त्र हो जुन १४० किलोमिटर (८७ माइल) टाढासम्म प्रहार गर्न सक्षम छ।
रिपोर्टहरूअनुसार, फतेह–२ संस्करणलाई ‘अझ उन्नत’ भनिएको छ र यसको दायरा ४०० किलोमिटर (२४८ माइल) सम्म छ ।

दुवै संस्करणलाई सतहबाट सतहमा प्रहार गर्ने क्षेप्यास्त्र भनिन्छ। अरबी भाषामा फतेह शब्दको अर्थ ‘लगभग विजेता’ वा ‘विजेता’ हो । यसैबीच भारतीय सेनाले पाकिस्तानले आफ्नो पश्चिमी सीमानामा ड्रोन आक्रमण गरेको बताएको छ ।

जम्मु कश्मीरको पहलगाममा अप्रिल २२ का दिन भएको आतंकवादी हमलामा २६ जना मारिएपछि पाकिस्तानलाई दोष दिँदै भारतले उसविरुद्ध ‘अपरेसन सिन्दूर’ अभियान चलाइरहेको थियो । त्यसको जवाफमा पाकिस्तानले पनि भारतविरुद्ध ‘अपरेसन बुन्यान–अन–मार्सुस’ थालिएको बताएको छ। यसैबीच जी–७ देशहरूले भारत र पाकिस्तानलाई शान्ति कायम राख्न र एकअर्कासँग प्रत्यक्ष वार्ता गर्न आग्रह गरेका छन् ।