तेस्रो जेसीज कप: श्रीमेयर गण र पर्पल हेज विजयी

धौलागिरी संवाददाता, बागलुङ / प्रकाशित मिति :
बुधबार, फाल्गुन २१ २០८१

बागलुङको बाङेचौर खेलमैदानमा जारी तेस्रो संस्करणको जेसीज कप फुटबल प्रतियोगितामा साविक उपविजेता नेपाली सेनाको श्रीमेहर गण र पर्पल हेजले विजयी शुरुवात गरेका छन् । मंगलबार भएका खेलमा श्रीमेहरले रुद्रेपिपल युवा क्लब र पर्पल हेज÷एभिएमले बागलुङ युनिटी क्लबलाई फराकिलो गोलअन्तरले पराजित गरेका हुन् ।
मदन लिम्बुको ह्याट्रिकको मद्धतमा विभागीय टोली श्रीमेहर गणले रुद्रेपिपललाई ७–० गोलअन्तरले पराजित गरेको हो । श्रीमेहरका लागि मदन लिम्बुले ४, विकास मगर, किसान राई र मविन तुम्बाफेले समान १–१ गोलको योगदान गर्नुभयो । श्रीमेहरले बिहिबार बलेवा एफसीसँग सेमिफाइनल प्रवेशको लागि प्रतिस्पर्धा गर्नेछ ।
मंगलबार नै भएको दोस्रो खेलमा पर्पल हेज÷एभिएमले बागलुङ एकता कल्बलाई ४–१ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । बागलुङ एकताले खेल १८ औं मिनेटमा सुशील थापाको गोलबाट अग्रता लिएपनि धेरै बेर जोगाउन सकेन ।
पर्पल हेजका अबिशेक महतोले खेलको ३१ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याउँदा ३३ औ मिनेटमा सुजाब बानियाँले गोल गर्दै अग्रता दिलाउनुभयो । मिलन स्याङतानले थप दुई गोल गरेपछि पर्पल हेजले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
बागलुङ जेसीजको आयोजनामा जारी प्रतियोगितामा बुधबार बुधबार पहिलो खेल गुठी युनाइटेड र म्याग्दी जिल्ला फुटबल संघ र दोस्रो खेल अमर आदर्श स्पोट्र्स क्लब र जिल्ला प्रहरी कार्यालय बागलुङबीच हुने जेसीज अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठले बताउनुभयो ।