एनपीएलको आजको खेलमा काठमाण्डौ गुर्खाज र विराटनगर किङ्ग्सको रोमाञ्चक पहिलो जीत

धौलागिरी एफएम संवाददाता / प्रकाशित मिति :
बुधबार, मंसिर १९ २០८१

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाण्डौ गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटले हराएको छ ।

कर्णालीले दिएको १ सय ५० रनको लक्ष्य काठमाण्डौ गुर्खाजले ३ बल बाँकी छँदा ७ विकेट गुमाएर भेटायो । काठमाण्डौका सुमित महर्जनले नटआउट ४०, गेरहार्ड इरस्मसले ३८, कप्तान करण केसीले २८ रन बनाए । कर्णालीका कप्तान सोमपाल कामी, नन्दर यादव, गुल्सन झा, जीशान मक्सूद र विपिन शर्माले १/१ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४९ रन बनायो । कर्णालीका शिखर धवनले नटआउट ७२ रन बनाए । प्रतियोगिताको पहिलो अर्धशतक बनाउने क्रममा धवनले ५१ बलमा ५ छक्का र ४ चौका प्रहार गरे । काठमाण्डौका गेरहार्ड इरस्मसले २ विकेट लिए ।

प्रतियोगितामा काठमाण्डौको यो पहिलो जीत हो । काठमाण्डौ पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो । कर्णालीले भने लगातार दोस्रो हार बेहोरेको छ । कर्णाली पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।

एनपीएलमा आजै दोस्रो खेलमा दिउँसो १ बजे विराटनगर किङ्ग्स र लुम्बिनी लायन्स खेल्दैछन् । विराटनगर यसअघिका दुई वटै खेलमा पराजित भएको छ भने लुम्बिनीको यो पहिलो खेल हो ।

त्यसैगरि विराटनगर किङ्ग्सले लुम्बिनी लायन्सलाई २ विकेटले हराएकाे छ । लुम्बिनीले दिएकाे १ सय ९२ रनकाे लक्ष्य विराटनगरले अन्तिम बल बाँकी छँदा ८ विकेट गुमाएर भेटायाे । विराटनगरका लाेकेश बमले ७१ रन बनाए । यस्तै बसिर अहमदले ४०, मार्टिन गप्टिलले २८, क्रिस साेलले ४ बलमा नटआउट १४ रन बनाए । विराटनगरले २० अतिरिक्त रन पायो । लुम्बिनीका दुर्गेश गुप्ताले ३ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रन बनायो । लुम्बिनीका कप्तान रोहित पौडेलले ४६, टस मूर्सले ३० रन बनाए । लुम्बिनीले २९ अतिरिक्त रन पायो । विराटनगरका कप्तान सन्दीप लामिछाने, इस्माल आलम र राजेश पुलामीले १/१ विकेट लिए । लुम्बिनीका ४ जना खेलाडी रनआउट भए ।

प्रतियाेगितामा विराटनगरकाे याे पहिलाे जीत हाे । विराटनगर यसअघि दुई वटा खेलमा पराजित भएकाे थियाे । लुम्बिनीकाे याे पहिलाे खेल हाे ।