शालग्राम संग्रहालय परिसरमा स्वामी श्रीपरांकुशाचार्य मण्डप निर्माण हुँदै

/ प्रकाशित मिति :
शुक्रबार, चैत्र १६ २០८០

कोपीला कँडेल
बागलुङ, १६ चैत्र – बागलुङ नगरपालिका वडा नम्वर – ४ कुडुले फेदी स्थित श्रीरंगवैकटेश मुक्तिनारायण मन्दिर शालग्राम संग्रहालय परिसरमा स्वामी श्रीपरांकुशाचार्य मण्डप निर्माण गर्न लागिएको छ ।

सनातन बैदिक धर्म प्रचारप्रसारमा महत्वपुर्ण योगदान पुर्याउनुभएका अनन्तश्री विभूषित शठकोप यतिराज रामानुज जीयर १ हजार ८ स्वामी परांकुशाचार्यको सम्मान स्वरुप श्री पराङकुशाचार्य मण्डप निर्माण गर्न लागेको श्री रंङ्ग वैकटेस मन्दिर तिरुपती बालाधीधाम मुक्तिनाथ वेद विद्याश्रम व्यवस्थपन समितिले जनाएको छ ।

गण्डकी प्रदेस सरकार तथा समाजसेवी आनन्दराज भण्डारीको आर्थिक सहयोगमा मण्डप निर्माण कार्यको थालनी गरिएको शालग्राम संग्रहालयका परिकल्पनाकार स्वामी ऋषि प्रपन्नाचार्यले बताउनुभयो । करिव ५५ लाखको लागतमा मण्डप निर्माण गर्न लागिएको हो ।
२०१६ सालमा भारतको सिक्किम बाट स्वामी श्री धराचार्यको साथमा धर्म प्रचार प्रसारका लागि नेपाल आउनुभएका स्वामी पराँकुशाचार्यले नेपालका बिभिन्न क्षेत्र नवलपरासी, रिडी, सुर्खेत, गुल्मी, पर्वतको सहस्रधारा, म्याग्दीको रत्नेचौर लगायतका दर्जनौ स्थानमा मन्दिर तथा आश्रम निर्माण गरी सनातन बैदिक धर्मको रक्षार्थ महत्वपुर्ण योगदान गर्नुभएकोले उहाँको सम्मान स्वरुप संग्रहालय परिसरमा श्रीपरांकुशाचार्य मण्डप निर्माण गर्न लागिएको स्वामी प्रपन्नाचार्य बताउनुहुन्छ ।

२०३४ सालमा सन्यास लिनुभएका स्वामी परांकुशाचार्यले सयौ गुरुहरुको उत्पादन र हजारौ चेलाहरु लाई शिक्षा–दिक्षा दिनुभएको छ । उहाँका ६ दर्जन बढि नेपाली र हिन्दी भाषामा लेखिएका धार्मिक तथा साहित्यीक कृति र कविता संग्रह प्रकाशित छन् । ९६ वर्षिय स्वामी परांकुशाचार्यले हाल नवलपरासी स्थित गैडाकोट लक्ष्मीनारायण मन्दिरमा रही धार्मिक गतिविधीमा सक्रिय रहनुभएको छ । स्वामी परांकुशाचार्यको सम्मानमा बन्न लागेको मण्डप अन्तिम चरणमा पुगेको र बैसाख १ गते देखी हुने ब्रम्होत्सवका अवसरमा उद्घाटन गरिने स्वामी ऋषि प्रपन्नाचार्यले जानकारी दिनुभयो ।