बागलुङ महोत्सव ः १० मिनेटमा नेपाल फनक्कै

/ प्रकाशित मिति :
आइतबार, पुष १५ २០८០

संगम घर्तीमगर
बागलुङ, पुस १५ – बागलुङ नगरपालिका—५ मालिकाका लक्ष्मीप्रसाद सापकोटालाई कालिका मन्दिर हेरेर सगरमाथासम्म पुग्न १० मिनेट लाग्यो । यो १० मिनेटको समयमा उनले नेपाल फनक्कै घुमे । सातौं बागलुङ महोत्सवको अवसरमा आयोजना गरिएको फोटो प्रदर्शनीले उनलाई १० मिनेटमै नेपाल घुम्ने मौका दिएको हो । यो १० मिनेटको अवधीमा बागलुङको ढोरपाटनदेखि मुगुको रारासम्म हेर्न भ्याए । फेवातालको तस्विर नियाल्दै गर्दा भेटिएका उनले भने,‘यो ठाउँको छेउछाउमा त पुगेको छु, म पुग्दा त यस्तो देखिएको थिएन । माछापुच्छ«े हिमाल फेवातालमा पौडिरहेको तस्विरको दृश्यले उनलाई खुब लोभ्याईरह्यो ।

सापकोटाले भने,‘यो ठाउँमा अर्को पटक फेरी जानुपर्ला । कति ठाउँहरु त म पहिले नै पुगिसकेको छु । कतिपय ठाउँमा भने यो फोटो हेरेपछि जान मन लागेको छ । बागलुङकै गलकोट दरबार, घाईघाट झरना, ढोरपाटन, तमानगाउँ, बुढाथोक गाउँ, निशेलढोर लगायतका ठाउँको तस्विर हेरेपछि एक पटक पुग्न पाए हुन्थ्यो भन्ने लागेको उनले सुनाए । ‘बागलुङको कालिका मन्दिर, पञ्चकोट, शालग्राम संग्रहालयहरु हामी पटक पटक पुग्ने गरेका ठाउँ हो, यो फोटो हेरेपछि अझ धेरै ठाउँ पुग्न बाँकी रहेछ भन्ने लागेको छ, उनले भने ।

उनीसंगै भेटिएका डिलप्रसाद सापकोटाले ढोरपाटनको चरण क्षेत्रमा रमाईरहेका नाउर देखेर घोत्लिरहे । ‘नाउरको सिकार गर्न विदेशीहरु आउँछन् भन्ने सुनेको थिएँ, यस्तो हुने रहेछ, यसरी बस्दा रहेछन्,उनी भन्छन् । गण्डकी प्रदेश स्तरीय पर्यटन कृषि तथा औद्योगिक व्यापार मेला एवं बागलुङ महोत्सव २०८० को सन्दर्भमा धौलागिरि बहुमुखी क्याम्पस बागलुङको ३ नम्बर हलमा आयोजना गरिएको तस्विर प्रदर्शनीले त्यहाँ पुग्नेहरुलाई लोभ्याउने गरेको छ । राजनीतिकर्मी कृष्ण केसीले प्रदर्शनीमा राखिएको तस्विरहरु आकर्षक र मोहक लागेको बताए ।

‘हामी आफै पुग्दा आँखाले देख्न नपाएका कुराहरु यहाँ तस्विरमा हेर्न पाईयो, केसी भन्छन्,‘हुन त हामी एकैछिन पुगेर हेरेर फर्कने भएर होला,केसीले भने,‘फोटो ग्राफरले त एउटै फोटोका लागि कैयौं समय गुजारेर खिचेका हुन्छन् । त्यसले गर्दा पनि फोटोहरु निकै आकर्षक र आनन्ददायक पाएँ । सहकारी अभियानका लागि देश विदेशको दौडाहा गरिरहने रामबहादुर जिसीले देशका धेरै ठाउँहरुमा एकै पटक पुग्ने अवसर फोटो प्रदर्शनीले दिएको बताए । ‘सहकारी अभियान र अरु कामले पनि देशका धेरै ठाउँमा पुग्ने गरेको छु,उनले भने,‘यहाँ फोटो हेर्दा कतिपय ठाउँहरुको नजिकै पुगेर तस्विरमा देखिएको ठाउँमा नपुगेको रहेछु भन्ने लागेको छ ।

बागलुङ महोत्सव २०८० को सन्दर्भमा आयोजना गरिएको तस्विर प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । महोत्सव सुरु भएपछि दैनिक हजार बढिले फोटो प्रदर्शनीको अवलोकन गर्दै आएको फोटो प्रदर्शनीका संयोजक रुपेश सापकोटाले बताए । ‘फोटो हेर्नका लागि प्रवेश शुल्क लिएका छैनौं, दैनिक हजार जनाको हाराहारीमा अवलोकनका लागि आउनुहुन्छ, उनले भने,‘निःशुल्क हेर्न पाउने र मन परेको तस्विर किनेर लैजाने व्यवस्था पनि मिलाएका छौं ।बागलुङ र विशेषगरी धौलागिरि क्षेत्रको पर्यटकीय ठाउँ र मौलिक सांस्कृतिक परम्परा तथा जनजीवन समेटिएका तस्विरहरु प्रदर्शन गरिएको सापकोटाले जानकारी दिए ।

एक लाख ५० हजार रुपैयाँ लगानी गरेर फोटो प्रदर्शनीको आयोजना गरिएको बागलुङ उद्योग वाणिज्य संघका सदस्य एवं पर्यटन प्रवद्र्धन तथा कृषि प्रदर्शनी उपसमिति संयोजक अर्जुन चोखालले बताए । ‘विशेषरी तस्विरमा दख्खल राख्ने व्यवसायिक फोटोग्राफर र पत्रकार साथीभाईहरुसंग सहकार्य गरेर हामीले यो व्यवस्थापन मिलाएका छौं,चोखालले भने,‘फोटोको प्रिन्ट र यहाँको व्यवस्थापनका लागि बागलुङ उद्योग वाणिज्य संघले डेढ लाख रुपैयाँ लगानी गरेको छ । फोटो मार्फत पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखिएको उनले बताए ।

तस्विर मार्फत पर्यटकमा कौतुहलता पैदा गर्ने प्रयास गरिएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेल बताउँछन् । ‘अहिले घुमफिर गर्ने चलन धेरै नै बढेको छ, त्यसैले पनि हामीले विशेषरीगरी बागलुङ र धौलागिरि क्षेत्रको पर्यटकीय ठाउँहरुलाई फोकस गरेर यो प्रदर्शनी गरेका छौं, उनले भने,‘धेरै भन्दा धेरैलाई फोटो देखाएर यहाँका पर्यटकीय ठाउँहरुको बारेमा मनमा खुल्दुली र जिज्ञासा जगाउन सकियो भने त्यसबाट भोलीको दिनमा बागलुङले लाभ लिनसक्छ भनेर हामीले निःशुल्क प्रवेश दिएका हौं ।

पर्यटनबाट बागलुङले ठूलो लाभ लिनसक्ने भएकोले सबै सरोकारवालाको ध्यान त्यसतर्फ जानुपर्ने उनको भनाई छ । फोटो प्रदर्शनीमा एक दर्जन पत्रकार र फोटो पत्रकारहरुले खिचेका एक सय बढि तस्विर राखिएका छन् । तस्विरमा धार्मिक एवं पर्यटकीय ठाउँसंगै बागलुङको कला संस्कृति र परम्परा तथा जनजीवन समेटिएको छ ।