द्वन्द पीडितलाई स्वरोजगार बनाउने: मन्त्री चुमान

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
सोमबार, मंसिर २२ २០७७

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले द्वन्द पीडितलाई स्वरोजगार बनाउने बताउनुभएको छ ।
जिल्ला प्रशासन कार्यालय बागलुङमा आयोजित शहीदका परिवार, अपांगता भएका, बेपत्ता ब्यक्तिका परिवार तथा द्वन्द्व पीडित व्यक्तिको राहत तथा पुनस्थापना सम्बन्धि अन्तरक्रियामा उहाँले रोजगारका कार्यक्रमबारे जानकारी गराउनुभएको थियो ।
गण्डकी प्रदेश सरकारले द्वन्दमा ज्यान गुमाएका परिवारका सदस्यलाई स्वरोजगार बनाई जीविकोपार्जनमा सघाउ पु¥याउने उद्देश्यले गोलभेडा खेती र बाख्रापालनबारे सीपमूलक तालिम संचालन गर्न लागेको मन्त्री चुमानले बताउनुभयो ।
चुमानका अनुसार, प्रदेशका पाँच जिल्लामा स्वरोजगार कार्यक्रम सञ्चालन हुने भएका छन् । बागलुङ, कास्की, गोरखा, तनहुँ र लमजुङमा आन्तरिक मामिला तथा कानून मन्त्रालयमार्फत कार्यक्रम सञ्चालन हुन लागेको उहाँले जानकारी दिनुभयो ।
मन्त्रालयले सञ्चालन गर्ने गोलभेँडा खेती कार्यक्रम कृषि ज्ञान केन्द्र पर्वत र बाख्रापालन कार्यक्रम पशु बिज्ञ केन्द्र बागलुङले सञ्चालन गर्ने भएका छन् ।
कार्यक्रमअन्र्तगत छनौट भएका लाभग्राहीले गोलभेँडा खेतीको लागि १५ हजार तथा बाख्रापालन गर्नेका लागि २० हजार रुपैयाँ अनुदान र प्राबिधिक सहयोग पाउने छन् ।
मन्त्रालयका उपसचिव काशीराम गैरेले कार्यपत्र प्रस्तुत गर्नुभएको कार्यक्रममा सहभागीहरुले सरकारले ल्याएका कार्यक्रमको प्रभाव र कार्यान्वयनको विषयमा जिज्ञासा राखेका थिए ।