भाषणले देश बन्दैन ः मन्त्री गुरुङ

धौलागिरी एफएम संवाददाता, पर्वत / प्रकाशित मिति :
मंगलबार, कार्तिक ४ २០७७

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले समृद्ध देशका लागि सबै जनता उत्पादनसँग जोडिनुपर्ने बताउनुभएको छ ।
पर्वतको जलजला गाउँपालिकामा सोमबार ‘जलजला अध्ययन प्रतिष्ठान (नेपाल कम्युनिस्ट पार्टी नेकपा जलजला) को भवन शिलान्यास गर्दै गुरुङले सबै पार्टी नेता र कार्यकर्ताको एक सुत्रिय उद्देश्य उत्पादनसँग जोडिने चाहना हुनुपर्ने बताउनुभयो ।
उत्पादन बिना रोजगारी सिर्जना नहुने र खर्चबिना आम्दानी नबढ्ने भन्दै गुरुङले भाषणको रटानले मात्रै देश समृद्ध नबन्ने तर्क गर्नुभयो । सरकारले बनाएका योजनामा हरेक नागरिकको साथ आवश्यक पर्ने भन्दै गुरुङले कोभिड–१९ ले थला परेको अर्थतन्त्र उकास्ने उत्तम विकल्प सबै जनता उत्पादनसँग जोडिनु भएको उहाँको भनाई थियो ।
विकासोन्मुख राष्ट्रमा भ्रष्टाचार बढी हुनु दुर्भाग्य भएको भन्दै गुरुङले त्यसको नियन्त्रणका लागि सबैले आ–आफ्नो तर्फबाट लाग्नुपर्नेमा जोड दिनुभयो । सरकारले बनाएका योजना जनताको जीवनस्तर उकास्ने गरि बजेट निर्माण गरेको उहाँको दाबी थियो ।
गण्डकी प्रदेशले कोभिड–१९ नियन्त्रणमा गरेको क्रियाकलाप नेपालमै अगाडि रहेको उहाँको दाबी रहेको छ । भवन बनाउनका लागि निःशुल्क जग्गा दिने नन्दबहादुर हमाल, टीका हमाल र देवी प्रसाद पौडेललाई सम्मान गरिएको थियो ।