पर्यटकिय क्षेत्रको प्रचार प्रसार, कृषि उपजको व्यवस्थापनमा ध्यान दिनुपर्छः मन्त्री लम्साल

बागलुङ महोत्सव सकियो
धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
मंगलबार, पुष २२ २០७६

गण्डकी प्रदेश स्तरीय पर्यटन, कृषि प्रर्दशन तथा उद्योग व्यापार मेला एवँ छैठौ बागलुङ महोत्सव सकिएको छ ।
बागलुङ उद्योग बाणिज्य संघको आयोजनामा पुस ११ गतेदेखि संचालित महोत्वस सोमवार सकिएको हो । आइतवार सकिने महोत्वस मौषममा आएको खरावीका कारण एक दिन थपिएको थियो ।
महोत्वस समापनको अवसरमा बोल्दै गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री बिकास लम्सालले गण्डकी प्रदेश प्रर्यटन प्रवद्र्धनको खानी भएकाले पर्यटन बर्ष २०२० लाई भव्य र सभ्य रुपमा मनाउनुपर्ने बताउनुभयो ।
नाचगान र रमाइलो मात्र गरेर पर्यटन प्रवद्र्धन नहुने भएकाले पर्यटकिय क्षेत्रको प्रचार प्रसार व्यवस्थापन, कृषि उपजको व्यवस्थापनमा ध्यान दिन गण्डकी प्रदेश र जिल्लावासी सवैलाई मन्त्रि लम्सालले आग्रह पनि गर्नुभयो ।
पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले बढि मात्रामा बजेट बिनियोजन पनि गरेकाले सरकारले लिएको लक्ष्यलाई पुरा गर्नु सवैको दायित्व भएको बताउनुभयो ।
कार्यक्रममा प्रतिनिधी सभा साँसद मनकुमारी केसी, प्रदेश साँसद मनिभद्र शर्मा कँडेल, उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य निर्माण कुमार श्रेष्ठ बासु र बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले मंतव्य व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा महोत्वस अवधिभर भएका बिभिन्न प्रतियोगिताका बिजेता, सहयोगदाता, प्रायोजक, बिभिन्न कार्यक्रमका संयोजकलाई सम्मान सहित मायाको चिनो बितरण गरिएको थियो ।
महोत्वसको अन्तिम दिन कलाकार चन्द्र शर्मा, कृष्ण अखेली, सरस्वती लामिछाने, हास्य कलाकार राजु पौडेल राजु मास्टर र मरिचमान श्रेष्ठ बल्छी धुर्वेको प्रस्तुती रहेको कलाकार संयोजक तथा उद्योग बाणिज्य संघ बागलुङका बरिष्ठ उपाध्यक्ष उमाकान्त शर्मा बावुले जानकारी दिनुभयो ।
कार्यक्रम बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीको अध्यक्षता र महासचिव नरेश कँडेलको संचालनमा सम्पन्न भएको थियो ।