पुस ४ गते देखि सिगानामा “सुन्तला उत्सव” हुँदै

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
सोमबार, मंसिर ३០ २០७६

बागलुङको सिगानामा सुन्तला उत्सव हुने भएको छ । सुन्तलालाई व्यावसायिक रुपमा प्रर्बद्धन गर्ने उद्देश्यले आगामी पुष ४ गते देखि ९ गतेसम्म बागलुङ नगरपालिका–८ सिगानामा चौथोे सुन्तला उत्सवको आयोजना गरिएको हो ।
‘बागलुङ जिल्लामै राम्रो सुन्तला उत्पादन हुने मध्येको सिगानमा उत्पादन भएका सुन्तलाको बजारीकरणका लागि सुन्तला उत्सव आयोजन गर्न लागेका हौं,’ सुन्तला उत्सव मुल आयोजक समितिका अध्यक्ष राम बहादुर खड्काले भन्नुभयो,‘ सुन्तला उत्सवले सुन्तलाको व्यापारमा सहयोग तथा प्रचार प्रसार गरेको छ ।’
सुन्तला उत्सवमा सिगानामा उत्पादन भएका सुन्तलाको नमूना प्रर्दशनी, नगर स्तरीय कृषि सम्मेलन, सुन्तला खाने प्रतियोगिता, सुन्तला बगैचाको अवलोकन तथा अन्य कृषि उपजहरुको प्रर्दशनी तथा सिगानाको सांस्कृतिक महत्व झल्काउने विभिन्न झाँकीहरुको प्रर्दशनी गर्ने आयोजकले बताएको छ ।
गणेश कृषि व्यवसायीक सहकारी संस्था लिमिटेड बागलुङ सिगानाले आयोजना गर्न लागिरहेको सुन्तला उत्सवमा खुल्ला पुरुष भलिवल प्रतियोगिता, लोक भजन प्रतियोगिता लगायतका प्रतियोगिता आयोजना गरिने भएको छ ।
सुन्तला उत्पादन हुने राम्रो क्षेत्रका रुपमा घोषणा भइ हाल प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्र्तगतको सुन्तला जोन म्याग्दीले समेत सिगानालाई सुन्तला जोन क्षेत्र भित्र समावेश गरेको बागलुङ नगरपालिका–८ सिगानाका वडा अध्यक्ष राजन जि.सीले बताउनुभयो ।
सिगानालाई कृषिवाटै सम्वृद्धि गर्ने योजनाका साथ १८०० मिटर माथी चिया खेती तथा १८०० मिटर तल सुन्तला खेती विस्तारका लागि विरुवा रोप्ने अभियानलाई समेत तिब्रता दिइएको अध्यक्ष जिसीले बताउनुभयो ।
उत्सवलाई व्यवस्थीत गर्नका लागि विभिन्न उपसमिति समेत गठन गरिएको छ । सिगानामा वार्षिक दुई करोड बढीको सुन्तलाको कारोवार हुँदै आएको छ । मेलामा एक दर्जन भन्दा बढी राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ ।