पञ्चैबाजा बजाउँदै मगर युवा

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, असोज २४ २០७६

अधिकाँस युवाहरु रोजगारीको खोजीमा विदेश पलायन भैरहेको बेला बागलुङका केही युवाहरु भने लोपोन्मुख संस्कृतिको संरक्षणमा जुटेका छन् ।

बागलुङको बागलुुङ नगरपालिका १० भकुण्डेका एक दर्जन मगर युवाहरु लोपोन्मुख पञ्चेबाजाको संरक्षणमा जुटेका हुन् ।

विशेषगरी परियारहरुले बजाउँदै आएको सांस्कृति नौमती पञ्चेबाजा लोप हुँदै जान थालेपछि समूह बनाएर संरक्षणमा जुटेको नौमति जनजाति पञ्चे बाजा समूह भकुण्डेका अध्यक्ष तुलबहादुर थापाले बताउनुुभयो ।

गाउँघरमा पुजा आजा, विवाह ब्रतबन्ध तथा उत्सवहरुमा पञ्चेबाजा बजाउने चलन भएको जानकारी दिदै थापाले बीचमा हराउँदै जान थालेपछि युवाहरु मिलेर यसको संरक्षणमा लागेको बताउनुभयो । समूहमा २५ देखि ४५ वर्ष भित्रका १२ जना मगर जनजाति युवा आवद्ध रहेको बताइएको छ ।

नौमति बाजामा समावेश हुने सबै बाजाहरु मगर युवाले नै बजाउँदै आएका छन् । २०६८ सालमा भकुण्डे महोत्सवबाट उनीहरुले पञ्चे बाजा बजाउन शुरु गरेका हुन् । गाउँमै महोत्सव लागेको थियो, महोत्सवमा प्रदर्शन गर्नुपर्ने सांस्कृतिक पञ्चै बाजा बजाउने कोही नभएपछि बाजा भाडामा लिएर बजाउन शुरु गरेको उल्लेख गर्दै थापाले पछि आफै बाजा संकलन गरेर व्यवसायिक समूह बनाएको बताउनुभयो ।

२०७० सालयता व्यवसायीक रुपमा पञ्चेबाजा बजाउने गरेको उहाँको भनाई छ । उनीहरुको समूहमा पञ्चे बाजा अन्तर्गतका ढोलकी, सहनाई, दमाहा, कर्नल, ट्याम्को लगायतका बाजा बजाउने सबै मगर रहेका छन् । उनीहरुले आफ्नै गाउँमा बाजा बजाएको १० देखि १२ हजार रुपैयाँ लिने गरेका छन् ।

गाउँमा बाजा बजाएको १०—१२ हजार लिने गरेको जानकारी दिदै समूहका कोषाध्यक्ष लालबहादुर थापाले भकुुण्डे भन्दा बाहिर ठाउँ अनुसार २०—३० हजार लिने गरेको बताउनुभयो । बुटवल र काठमाडौंसम्म गएको ५० हजार लिने गरेको थापाले जानकारी दिनुुभयो । विवाह, ब्रतबन्ध, पास्नी, चौरासी पुजा, गणेश पुजा लगायत विभिन्न सामाजिक कार्यक्रमहरुमा पनि उनीहरुको माग हुने गरेको छ ।