गण्डकी प्रदेशले कर्मचारीलाई ‘घुमफिर भत्ता’ दिने

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शनिबार, भाद्र ७ २០७६

गण्डकी प्रदेश सरकारले कर्मचारीलाई घुमफिरमा प्रेरित गर्दै भत्ता दिने भएको छ ।
कर्मचारीलाई भ्रमण भत्ता स्वरुप १ महिनाको तलब बराबर रकम उपलब्ध गराउने कार्य्विधि मन्त्रिपरिषद बैठकले पारित गरेको जानकारी सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले दिनुभयो ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री बस्नेतले कर्मचारीलाई घुमफिर भत्ताका लागि ९० लाख रुपैयाँ छुट्याइएको समेत जानकारी दिनुभयो । प्रदेशमा झन्डै २ हजार कर्मचारी छन् ।
मन्त्रिपरिषद् निर्णय सार्वजनिककै क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कानून सचिव दलबहादुर अधिकारीले ९० लाखबाट पुग्ने कर्मचारीलाई यो वर्ष र बाँकीलाई अर्काे वर्ष भत्ता उपलब्ध गराइने बताउनुभयो ।
भ्रमण विदा र भत्ता लिन कर्मचारीहरु संघ र प्रदेश सरकारले तोकेका गण्डकीभित्रका पर्यटकीय गन्तव्य स्थल वा होमस्टेमा जानुपर्नेछ र परिवारको एकजना सदस्य पनि लैजानुपर्ने छ । यस्तो सर्त कार्य्विधिमा छ । मन्त्री बस्नेतले भन्नुभयो ,‘कर्मचारीको भ्रमण विदा ७ दिन हुनेछ ।’
गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटन भ्रमण वर्ष घोषणा गरेको छ। यहाँका ११० पर्यटकीय गन्तव्यको सूची पनि सरकारले सार्वजनिक गरेको छ। झन्डै ३०० होमस्टेलाई प्रदेश सरकारले सघाएको छ । होमस्टे प्रवद्र्धनको उद्देश्यसहित प्रदेश सरकारले कर्मचारीलाई घुमफिरमा हौस्याउन लागेको हो ।