बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद

/ प्रकाशित मिति :
बुधबार, साउन ६ २០८३

बागलुङ, ६ साउन – जैमिनी नगरपालिका–८, छिस्तीको बेलबगरमा खसेको पहिरोले कालीगण्डकी कोरिडोर सडकको बागलुङ खण्ड छ दिनदेखि ठप्प छ ।

निरन्तरको वर्षाले पहिरो पन्छाउन समस्या भएपछि शुक्रबारदेखि अवरुद्व सडक अझै खुल्न सकेको छैन । सडक अवरुद्ध हुँदा बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद भएको छ । बागलुङबाट गुल्मी, स्याङ्जा, पाल्पा हुँदै रुपन्देहीसम्म यात्रुवाहक सवारी र खाद्यान्न बोकेर आएका मालवाहक ट्रक बेलबगरमै रोकिएका छन् ।

सडक डिभिजन कार्यालयको समन्वयमा जेसिबी मेसिन परिचालन गरी पहिरो हटाउने कार्य भइरहे पनि निरन्तरको वर्षाले काम प्रभावित भएको छ । पहिरो ठुलो तथा जटिल प्रकृतिको भएकाले सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन समय लाग्ने प्रारम्भिक अनुमान गरिएको प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो ।

पहिरो पन्छाउन तीन वटा मेसिन प्रयोग गरिए पनि वर्षाका कारण काम प्रभावित भएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो । कमजोर भूबनोटका कारण बर्खायाममा बेलबगरको पहिरोले यात्रुलाई जोखिमपूर्ण यात्रा र सास्ती हुने गरेको छ ।

सालझन्डी–ढोरपाटन सडक अन्तर्गत बुर्तिबाङ–ढोरपाटन खण्डको सुकुरदुङमा खसेको पहिरो पन्छाएपछि सडक खुलेको छ । ढोरपाटन नगरपालिका–९, सुकुरदुङमा सोमबार राति खसेको पहिरोले पर्यटक बोकेको स्कोर्पियो पुरिनुकासाथै सडक अवरुद्व भएको थियो ।