बागलुङ महोत्सवमा स्थानीय उत्पादनले पायो प्राथमिकता

/ प्रकाशित मिति :
सोमबार, पुष २१ २០८२

बागलुङ, १५ पुष – बागलुङमा संचालित आठौ बागलुङ महोत्सव २०८२ मा स्थानीय उत्पादनले प्राथमिकता पाएको छ ।
बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा पुस ११ गतेदेखि बागलुङ नगरपालिका–१ रामरेखामा स्थित बाङ्गेचौर खेलमैदानमा बागलुङ महोत्सवमा स्थानीय उत्पादनले प्राथमिकता पाएको हो ।

महोत्सवमा २ सय बढी व्यापारिक भरीभराउ छन् । जसमध्ये केही स्टलहरुमा बागलुङमा उत्पादित समाग्रीहरुले ‘मेड इन बागलुङ’को नामबाट छुट्टै प्राथमिकताका साथ स्टलहरु पाएको छ । निःशुल्क प्रदान गरिएको स्टलमा बागलुङमा उत्पादन भएको डाला नाङ्ला, ठेकादेखि अल्लोका कपडासम्म महोत्सव स्थलमा राखिएको छ ।

घरेलु उत्पादनको बजारीकरणसंगै प्रचार प्रसारका लागि आयोजकले निःशुल्क स्टलको व्यवस्था मिलाएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्यले जानकारी दिनुभयो । उहाँले बिहुँ र सिगानाका सुन्तलाका साथै बागलुङमा प्याकेजिङ गरिएको मकैदेखि हस्तकलाका विभिन्न सामाग्री बिक्रीका लागि एक दर्जन स्टलहरुलाई मेड इन बागलुङका नाममा छु््ट्टाइएको जानकारी दिनुभयो ।

महोत्सवमा बिहुँको बिहुँकोट साना किसान कृषि सहकारीमार्फत प्याकेजिङ गरिएको सुन्तला, तमानखोलाको स्थानीय हस्तकलाका सामाग्री र ताराखोलाको भाँगोदेखि डोका नाम्ला सम्म महोत्सवका स्टलहरुमा राखिएको छ । बिहुँको सुन्तलालाई केस्रा ब्राण्डमा बजारमा ल्याइएको छ । विगतका महोत्सवमै प्रचार प्रसार भएका कारण जैमिनी नगरपालिका–३ मा उत्पादन भएको बाकोको गुन्द्रुक र सिस्नोको पाउडरले राम्रो बजार पाउन थालेको थियो ।