म भागेर छैन, पूर्णपाठ आएपछि अदालतमा आफै उपस्थित हुन्छुः प्रदेश सांसद राजिव गुरुङ

धौलागिरी संवाददाता / प्रकाशित मिति :
शनिबार, कार्तिक २४ २០८१

ज्यान मार्ने उद्योगमा ५ वर्षको कैद सजाय तोकिएका गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ .(दिपक मनाङे) ले सर्बोच्च अदालतको पूर्णपाठ आएपछि आफु अदालतमा उपस्थित हुने बताएका छन् । सर्बोच्चको फैसलापछि मोबाइलमा फोन आएर हैरानी भएपछि अहिले मोबाइल बन्द गरेको भन्दै गुरुङले आज आफ्नो फेसबुक पेजमा प्रेस विज्ञप्ति सार्वजनिक गरी यस्तो बताएका हुन ।

गुरुङले बिज्ञप्तिमा केही दिनयता विभिन्न अखवार र सामाजिक सञ्जालमा मेरो विषयमा लेखिएका समाचार र टिकाटिप्पणीप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । सम्मानित सर्वोच्च अदालतमा विचाराधिन मेरो मुद्दाको गत कार्तिक २० गते फैसला भएको विषय मैले मेरो तर्फबाट बहस पैरवी गरिरहेका कानुन व्यवसायी मार्फत थाहा पाएको हुँ। सो पश्चात मेरा कानून व्यवसायीलाई फैसलाको नक्कल सानं पठाए तर अदालतबाट फैसलाको संक्षिप्त पाठ तयार नभएको भन्ने जानकारी आएको उनले बताएका छन ।

‘फैसला आउँदाको दिनदेखि केहि गुणस्तरहीन् सञ्चार माध्ययमहरुबाट तारन्तार आइरहेका कलहरूले गर्दा केहि समयका लागि मैले प्रयोग गर्दै आएको मोबाइल बन्द गरेको छु। यहि विषयलाई लिएर विभिन्न सञ्चार माध्ययमहरुमा भ्रामक समाचारहरु सम्प्रेषण भइरहेको पाएको छ। यसमा मेरो आपत्ति छ । सम्मानित सर्वोच्च अदालतबाट फैसलाको पूर्ण पाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा म स्वयम् उपस्थित हुने कुरा जानकारी गराउन चाहन्छु’ उनले विज्ञप्तिमा भनेका छन् ।  न्यायाधीशहरु नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसलालाई गत मंगलबार सदर गरेको हो । उच्च अदालत पाटनले ज्यान मार्ने उद्योगमा मनाङेलाई ५ वर्ष कैद सजाय सुनाएको थियो ।