गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायातमन्त्री बर्खास्त

/ प्रकाशित मिति :
मंगलबार, कार्तिक २९ २០७९

बागलुङ, २९ कार्तिक – गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुमार खड्का बर्खास्त हुनुभएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उहाँलाई बर्खास्त गर्नुभएको हो । खड्काले समाल्दै आएको मन्त्रालय मुख्यमन्त्री पोखरेल आफैंले सम्हाल्ने गरि हटाउनुभएको हो ।
खड्काले गठबन्धनका कास्की –२ ख का उम्मेदवार विन्दुकुमार थापालाई असहयोग गरेको भन्दै मुख्यमन्त्री पोखरेलले बर्खास्त गरेको बताइएको छ । खड्काले पछिल्लो समय गठबन्धनका उम्मेदवार विरुद्ध मत माग्दै हिँडेको आरोप छ ।
खड्का ०७४ सालमा निर्वाचनमा समानपातिकबाट गण्डकी प्रदेश सभा सदस्य पदमा निर्वाचित हुनुभएको थियो । बागी फिर्ता लिएपनि एमालेसँग मिलेर भोट काट्ने योजना बनाएपछि उहाँलाई बर्खास्त गरिएको एक मन्त्रीले बताउनुभयो । मन्त्री खड्काले भने आफूलाई बर्खास्त भएको खबर प्राप्त नभएको बताउनुभएको छ ।