बागलुङ चिनाउन चलचित्र ‘बुकी’ निर्माण हुने

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, असोज २५ २០७७

बागलुङका पर्यटकीय क्षेत्रको चिनारीका लागि चलचित्र निर्माण हुने भएको छ । बागलुङका पर्यटकीय गन्तव्य, धार्मिक स्थल, साँस्कृतिक तथा प्राकृतिक सम्पदालाई समेटेर पहिलोपटक ठुलो पर्दाको चलचित्र निर्माण गर्न लागिएको हो ।
हिमालयन इभेन्ट म्यानेजमेन्ट प्रालिले चलचित्र बुकी निर्माण गर्न लागेको हो । बागलुङलाई विश्वभर चिनाउने गरि ऐतिहासिक चलचित्र निर्माण अभियान थालिएको संयोजक राजन केसी मोहनले बताउनुभयो । चलचित्रमार्फत जिल्लालाई पर्यटकीय गन्तव्य बनाउन सफल हुनेमा आफुहरु विश्वस्त रहेको केसीको भनाई छ ।
स्थानीय तह, संघसंस्था, प्रवासी तथा स्थानीय नागरिकसंगको समन्वयमा आर्थिक संकलन गरेर चलचित्र निर्माण हुने अभियानका सचिव थम्मन थापा सन्देशले जानकारी दिनुभयो । पोखरामा आउने पर्यटकलाई बागलुङ भित्राउन चलचित्र बुकीले महत्वपूर्ण भूमिका खेल्ने थापाले दाबी गर्नुभयो ।
चलचित्र बुकीको कथावस्तुको काम सकेर आर्थिक संकलन अभियानमा लागेको उनको भनाई छ । चलचित्र निर्माणको लागि आर्थिक संकलन गर्न जिल्लाका सबै स्थानीय तहमा सांगीतिक कार्यक्रम गर्ने कार्यक्रम रहेपनि कोरोनाले प्रभावित भएको थापाले बताउनुभयो ।
चलचित्र नेपाली र अंग्रेजी भाषामा तयार हुने निर्माण युनिटले जनाएको छ । चलचित्र निर्माणको लागि १ करोड ४० लाख खर्च अनुमान गरिएको छ । चलचित्रबाट हुने आम्दानी पनि पर्यटकीय गन्तव्यको भौतिक पूर्वाधार र प्रचार प्रसारमा खर्च गरिने बताईएको छ ।