आज जनै पूर्णिमा पर्व मनाईदै

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
सोमबार, साउन १९ २០७७

आज जनै पूर्णिमा पर्व देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।
यसदिन वैदिक सनातन धर्मावलम्बीले बिहानैदेखि नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर जौ तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेर्ने तथा गुरु पुरोहितबाट रक्षासूत्र अर्थात् डोरो बाँध्ने गरिन्छ ।
ऋषिलाई तर्पण गर्ने भएकाले यस दिनलाई ऋषितर्पणी भन्ने गरिएको छ । मन्त्रिएको जनै फेर्ने गरिएकाले नै श्रावण शुक्ल पूर्णिमालाई जनैपूर्णिमा पनि भनिन्छ ।
आजैका दिनलाई नेवारी समुदायले भने श्रावण शुक्ल पूर्णिमालाई गुँपुन्ही भनी मनाउने गर्दछन् । क्वाँटी खाने परम्परा नेवारी समुदायको यसै पर्वबाट आएको हो ।
एघारथरिका गेडागुडी मिसाई भिजाएर टुँसा उमारेर क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने मान्यता नेपाली समुदायमा रहेको छ ।
नेपालको तराई क्षेत्रमा पनि यसैदिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँध्ने चलन छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता समेत रहेको छ ।
आज रक्षाबन्धनको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेको छ । प्रदेश सरकारले जनैपूर्णिमासहित ईद, तमु ल्होसार, माघे संक्रान्ति र सोनम ल्होसारमा थप सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।