बिपी स्मृति दिवश बागलुङमा वृक्षारोपण गरि मनाईयो

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बुधबार, साउन ७ २០७७

३८ औं बीपी स्मृति दिवशको अवसरमा मंगलबार बागलुङका अधिकांश पालिका र स्थानमा वृक्षारोपण गरि मनाइएको छ । दशकअघि बागलुङ नगरपालिका वडा नं. १ को रामरेखामा स्थापना गरिएको बीपी स्मृतिमा पार्कमा वृक्षारोपण गरिएको हो ।
वृक्षारोपणपछि आयोजित कार्यक्रममा बोल्दै कांग्रेसका जिल्ला नेताहरुले बीपीको सिद्धान्तलाई पालना गर्न नसकेकै कारण कांग्रेस पछि परेको धारणा राखेका थिए ।
उनीहरुले आगामी निर्वाचनमा बहुमत ल्याउन कांग्रेसले आजैदेखि बीपीको सिद्धान्त तथा उनले गरेको त्याग र संघर्ष हरेक कार्यकर्ताले गर्नुपर्नेमा जोड दिएका थिए ।
बीपीले देखाएको बाटोमा हामी अझै हिड्न नसकेको जिकिर गर्दै कांग्रेस बागलुङका जिल्ला सभापति दिपेन्द्र बहादुर थापाले अब सबै मिलेर बीपीको सपना पुरा गर्ने बाटो अग्रसर हुनुपर्ने बताउनुभयो ।
वर्षको एकपटक पार्कमा बिरुवा रोपेर मात्र नभइ निस्वार्थ काम गर्ने अबस्था आयो भने बीपीले चाहेको राष्ट्र बन्ने थापाको भनाई थियो । बिपी स्मृति दिवशमा मात्रै सम्झिने रामरेखाको पार्कलाई व्यवस्थित बनाउन कार्यकर्ताले पैसा संकलन गरेर काम थाल्ने समेत थापाले बताउनुभयो ।
बीपी स्मृति दिवश मनाइरहँदा रामरेखाकै झाडी फाँडेर बिरुवा रोपिएको थियो । झाडी फाँडेर बिरुवा रोप्दा फेरी अलपत्र पर्ने भएपछि सभापति दिपेन्द्रबहादुर थापाले बिरुवा संरक्षणका लागि बारबन्देजको प्रस्ताव गर्नुभएको थियो ।
यस्तै, मंगलबारै बीपीको स्मृति दिवशमा बीपी चिन्तन प्रतिष्ठानले जैमिनी नगरपालिकामा नेपालको वर्तमान राजनीतिक परिवेश र बीपी बिचार बिषयक अनलाइन अन्तरक्रिया पनि सम्पन्न गरेको छ ।