श्रमजिबीले नियमित तलब पाउने र सहजै काम गर्ने वातावरणको ीसर्जना गर्न महासंघले भूमिका खेल्नुपर्छः नगरप्रमुख पौडेल

नेपाल पत्रकार महासंघ बागलुङको २० औं स्थापना दिवश सम्पन्न
धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, असार २६ २០७७

कोरोना भाइरसको संक्रमणपछि खस्केको व्यवसाय र बिज्ञापन बजारबाट पहिलो शिकार नेपालका पत्रकार भएको एक कार्यक्रममा सहभागीले बताएका छन् ।
नेपाल पत्रकार महासंघ बागलुङले आफ्नो २० औं स्थापना दिवशको अबसरमा आयोजना गरेको अन्तरक्रियाका सहभागीले सशष्त्र द्वन्द्व, नाकाबन्दीजस्ता समस्यामा डटेर काम गरेका पत्रकार कोरोनाबिरुद्ध पनि लाग्नुपर्ने बताएका थिए ।
कोरोना संक्रमणबिरुद्ध पनि पहिलो लाइनमै बसेर काम गरिरहे पनि संचालकहरुको मानसिकताका कारण पत्रकार निकालिनु परेको समेत सहभागिको धारणा थियो ।
संचारमाध्यम र पत्रकार नभएको समाज कल्पना गर्दा अबको युग अपुरो हुने भन्दै उनीहरुले राज्य पनि पत्रकारिता बचाउन गम्भिर बन्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले राज्य र स्थानीय तहले बिज्ञापन लगायतको नाउँमा संचारगृहमा भुक्तानी दिइरहेको बताए । ‘हामीले भुक्तानी दिइरहेका छौं, तर मिडिया संचालकहरु कतै श्रमजिवीप्रति अनुत्तरदायी भएकी ?’ पौडेलले भन्नुभयो, ‘श्रमजिबीले नियमित तलब पाउने र सहजै काम गर्ने वातावरण मिल्ने अबस्था सिर्जना गर्न महासंघले पनि भूमिका खेल्नुपर्छ ।’
उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले पत्रकारितामार्फत नागरिक सूचित हुने मौका पाएकोले संकटमा पत्रकारले अझै संयम भएर काम गर्नुपर्ने बताउनुभयो । तर, उहाँ संयोजक रहेको जिल्ला कमाण्ड पोष्टले समयमा सूचना दिन नसकेको पत्रकारहरुकै गुनासो बढेको छ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरिषको अध्यक्षता, सचिव राम थापाको संचालन र सह–सचिव सुबास आचार्यको स्वागतमा सम्पन्न कार्यक्रममा भवनको भौतिक र आर्थिक प्रगतीबारे कोषाध्यक्ष बिजय रानाले जानकारी गराउनु भएको थियो ।
२०५७ असार २५ गते पत्रकार महासंघ बागलुङ शाखा स्थापना भएको थियो । २० बर्षको अबधिमा महासंघले आफ्नै भवन बनाएको छ । झण्डै एक करोड लागतमा भवन निर्माण गरिएको हो ।