बागलुङमा हालसम्म ५५ प्रतिशत रोपाई सकियो

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बिहिबार, असार २५ २០७७

असार सकिन लाग्दा बागलुङ जिल्लामा हालसम्म झण्डै ५५ प्रतिशत रोपाइँ सकिएको छ । यसबर्ष छिटो वर्षा शुरु भएकाले रोपाई पनि चाडै शुरु गरिएको थियो ।
असारभित्र अधिकांश क्षेत्रमा रोपाइँ सकिने कृषि ज्ञान केन्द्रले जनाएको छ । यसबर्ष मौसम अनुकूल पर्नाले रोपाइँ छिटो भएको केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताउनुभयो ।
बढी धान उब्जाउ हुने मजुवा फाँटमा रोपाइँ सकिएको गलकोट नगरपालिका, कृषि शाखा प्रमुख हरिदत्त सुवेदीले बताउनुभयो । गलकोटका मजुवा लगायत फाँट खोला आसपास भएकाले रोपाइँलाई समस्या नभएको उहाँको भनाइ रहेको छ ।
आकाशे पानीमा भर पर्ने खेतमा पनि दैनिक जसो परेको वर्षाले किसानलाई राहत मिलेको छ । गलकोट, कुश्मीसेरा, खरबाङ र बुर्तिबाङ लगायतका ठाउँमा छिटो रोपाई हुने गर्दछ । तीन बाली हुने खेतमा भने किसानले मकै झिकेपछि असार अन्तिम र साउनसम्म पनि रोपाइँ गर्दै आएका छन् ।
अमलाचौर, नारायणस्थान, बिहुँ, पाला, मालिका, बुर्तिबाङको उपल्लो भेग लगायतका ठाउँमा भने रोपाइँ ढिलो हुने गरेको छ ।
बागलुङको कुल ६ हजार १ सय २२ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । बरिष्ठ कृषि बिकास अधिकृत रेग्मीले बागलुङमा प्रतिहेक्टर तीन मेट्रिक टन धान उत्पादन हुने बताउनुभयो ।