बागलुङमा पहिलोपटक प्रि–आइसोलेशनमा उपचार थालियो

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
सोमबार, जेष्ठ २६ २០७७

धौलागिरि अस्पतालमा बनाईएको आईसोलेसन वार्ड भरिएपछि बागलुङमा पहिलो पटक कोरोना संक्रमितलाई अस्पताल बाहिर राखेर उपचार शुरु गरिएको छ ।
आइतबार कोरोना पुष्टि भएका ढोरपाटन नगरपालिकाका १ जनको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र र बडिगाड गाउँपालिकाका ९ जनाको धौलागिरी बहुमुखी क्याम्पसमा निर्माणाधिन प्रि–आईसोलेसनमा राखेर उपचार शुरु गरिएको हो ।
धौलागिरि अस्पतालको आइसोलेसन वार्ड भरिएपछि अस्पताल बाहिर आईसोलेन निर्माण गरेर उपचार थालिएको जिल्ला कमाण्ड पोष्टका संयोजक गौलोचन सैजुले बताउनुभयो ।
ढोरपाटन नगरपालिकाको अधिकारीचौरमा रहेको क्वारेन्टाईनमा संक्रमण पुष्टि भएका एक युवाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको प्रि–आईसोलेसनमा उपचार थालिएको छ ।
जिल्ला स्तरिय कमाण्ड पोष्टको सल्लाहमा स्वास्थ्य केन्द्रमा निर्मित प्रि–आईसोलेसनमा राखेर बिरामीको उपचार थालिएको स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले जानकारी दिनुभयो ।


यस्तै, धौलागिरी अस्पतालका चिकित्सकहरुको प्रत्यक्ष निगरानीमा धौलागिरी बहुमुखी क्याम्पसमा बनाईएको प्रि–आईसोलेशनबाट ९ जना बिरामीको उपचार थालिएको धौलागिरी अस्पतालका प्रमुख डा. शैलेन्द्र वि. पोखरेलले जानकारी दिनुभयो ।
जिल्लाभर कोरोना संक्रमित बिरामीको संख्या बढ्न थालेपछि क्याम्पसमा ५० शैयाको प्रि–आईसोलेसन बनाउने काम जिल्ला कमाण्ड पोष्टले गरिरहेको छ ।
बुर्तिबाङमा रहेको स्वास्थ्य केन्द्रमा पनि २५ शैयाको आइसोलेसन कक्ष तयार गरिएको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले बताउनुभयो । बुर्तिवाङमा निर्मित आईसोलेसनमा पाँच शैया महिला बिरामीका लागि छुट्टाईएको छ ।