होटललाई क्वारेन्टाइन बनाउन बागलुङ व्यवसायी तयार

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शनिबार, जेष्ठ २४ २០७७

होटल क्वारेन्टाईनमा बस्न चाहनेहरुका लागि आवश्यक सहयोग गर्न बागलुङका होटल व्यवसायीहरु तयार भएका छन् । सरकारले शुक्रबारदेखि विदेशमा अलपत्र परेका नेपालीको उद्धार गर्न थालेपछि उनीहरुले बस्न चाहेमा क्वारेन्टाईनको रुपमा होटल उपलव्ध गराउन व्यवसायीहरु तयार भएका हुन् ।
होटल व्यवसायी संघ र बागलुङ नगरपालिकाबीच शुक्रबार भएको छलफलमा व्यवसायीले विदेशबाट फर्किएर बागलुङ आएका व्यक्तिलाई होटल क्वारेन्टाइनमा बस्न चाहे उपलब्ध गराउने सहमति भएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो ।
होटल क्वारेण्टाईनमा बस्न चाहनेहरुका लागि खाजा–खानासहितको प्याकेज होटलले उपलव्ध गराउने र त्यस बापतको रकम व्यक्तिले नै व्यहोर्ने गरी दुई पक्षबीच सहमति भएको होटल व्यवसायी संघ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिनुभयो ।
तत्कालका लागि केही होटल क्वारेन्टाइनको लागि छानिएको र आवश्यक परे सबै होटल प्रयोगमा आउनेगरी व्यवस्थापन गरिने पनि सहमतिमा उल्लेख गरिएको छ । होटल क्वारेन्टाईनमा बस्न प्रतिव्यक्ति १५ सयदेखि १७ सय ५० रुपैयाँसम्म शुल्क निर्धारण गरिएको छ ।
होटलहरुले शुल्कसहित दिएको सेवाले बिदेशबाट आउनेहरुलाई सहज हुने अपेक्षा गरिएको नगर प्रमुख पौडेल भनाई छ ।