सम्झना आत्महत्या प्रकरणः प्रहरी जवान दवाडी पुर्पक्षको लागि थुनामा

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, जेष्ठ ११ २០७७

आत्महत्या दुरुत्साहन मुद्दामा जिल्ला अदालत बागलुङले एक प्रहरी जवानलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
बागलुङ नगरपालिका–२ माझकोटको आनन्द चौपारीस्थित डेरा गरी बस्दै आएकी ३३ वर्षिय सम्झना किसान आत्महत्या घटनामा पक्राउ परेका प्रहरी जवान राकेश दवाडीलाई जिल्ला न्यायधिश बासुदेव न्यौपानेको इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
आत्महत्या दुरुत्साहन मुद्दामा दवाडीलाई बागलुङ कारागार चलान गर्न जिल्ला अदालतले आदेश दिएको प्रहरी निरीक्षक दिपक रिजालले जानकारी दिनुभयो । तनहुँको व्यास नगरपालिका वडा नं. ८ का स्थायी बासिन्दा दवाडी जिल्ला प्रहरी कार्यालय बागलुङमा कार्यरत थिए ।
छोरी सम्झनालाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै बुबा खड्क बहादुर सार्कीले प्रहरी जवान दवाडीविरुद्व प्रहरी कार्यालयमा किटानी जाहेरी दिनु भएको थियो । दवाडीकै कठोर व्यवहारले आत्महत्याको बाटो रोज्नु परेको सम्झनाले छोडेको सुसाईट नोटमा उल्लेख गरिएको थियो । सम्झनाले गत बैशाख १६ गते आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेकी थिईन् ।
गत भदौ १ गतेदेखि कार्यान्वयनमा आएको देवानी संहिता २०७६ ले आत्महत्या दुरुत्साहन गर्नेलाई समेत कारवाहीको व्यवस्था गरेको छ । आत्महत्या दुरुत्साहन मुद्धामा ५ वर्षसम्म कैद र ५० हजार जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।