बिहिबार सांझ बागलुङका ३९ जनालाई सम्बन्धित पालिका पठाईयो

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, जेष्ठ ९ २០७७

भारतबाट आएर भैरहवा र कपिलबस्तुमा अलपत्र परेका ३९ जना उद्वार गरी बिहिबार साँझ बागलुङ ल्याई सम्बन्धित पालिकामा पठाईएको छ ।
सरकारले सिमा नाकामा अलपत्र परेका आफ्ना नागरिकलाई तत्काल उद्दार गर्न आग्रह गरेपछि भैरहवा र कपिलवस्तुमा अलपत्र परेका बागलुङ नगरपालिकाका ५, जैमिनी नगरपालिकाका ४, काठेखोला गाउँपालिकाका ३, गल्कोट नगरपालिकाका ५, ताराखोला गाउँपालिकाका ७, बडिगाड गाउँपालिकाका ६ र तमानखोला गाउँपालिकाका ८ गरि ३९ जनालाई बागलुङ ल्याई बिहिबार साँझ नै सम्बन्धित पालिकामा पठाईएकोको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक रिजालले जानकारी दिनुभयो ।
स्थानीय तह, जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालयको समन्वयमा सवारी साधनलाई कोभिड फ्रेन्ली सवारी बनाएर उद्दार गरिएको जानकारी दिँदै रिजालले उनीहरुलाई सम्बन्धित पालिकामा क्वारेन्टाईनमा रहने गरी पठाईएको बताउनुभयो ।
बागलुङ नगरपालिकाका ५ जनालाई भने बागलुङ नगरपालिका वडा नं. १ रामरेखाको क्वारेन्टाइनमा राख्ने तयारी गरिएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख राम प्रसाद खनालले जानकारी दिनुभयो । यसअघि भारतबाट कैलाली आएर बसेका १६ जनाको पनि उद्धार गरी बागलुङका बिभिन्न क्वारेन्टाईनमा राखिएको छ ।