बागलुङमा डेंगुको संक्रमण भेटिएपछि सचेतना र नियन्त्रणको अभियान थालियो

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
मंगलबार, जेष्ठ ६ २០७७

छिमेकी जिल्ला म्याग्दीपछि बागलुङमा डेंगुका बिरामी भेटिएपछि बागलुङमा बागलुङमा जिल्लाव्यापी डेंगु नियन्त्रण तथा सचेतना अभियान थालिएको छ । गत शुक्रबार धौलागिरि अस्पतालमा उपचारका लागि आएका बिरामीमा डेंगुको संक्रमण भेटिएपछि सचेतना र नियन्त्रणको प्रयास थालिएको हो ।
कोरोनाको कहरबीच डेंगुको जोखिम बढेपछि स्वास्थ्य कार्यालयले आम नागरिकलाई सजग हुने आग्रह गरेको गरेको छ । कार्यालयले दशवटै पालिकाका सबै स्वास्थ्य चौकीका प्रमुख र अन्य स्वास्थ्यकर्मीलाई तालिम पनि दिएको छ । तालिम पाएका स्वास्थ्यकर्मी दशवटै स्थानीय तहमा पुगेपछि अभियान शुरु भएको कार्यालयले जनाएको छ ।
लक्षण देखिएमा तत्काल परीक्षण गराउन भन्दै पालिकालाई पत्राचार समेत गरेको स्वास्थ्य कार्यालय प्रमुख सुरज गुराँैले बताउनुभयो । सबै पालिका र धौलागिरि अञ्चल अस्पतालमा पुग्ने गरी परीक्षण किट पनि मगाएको जानकारी दिदै उहाँले प्रदेश मन्त्रालयवाठ किट उपलब्ध गराउने आश्वासन आइसकेको बताउनुभयो ।
एक बिरामीबाट अर्कोमा सजिलै सर्ने भएकाले सतर्कता अपनाउन सचेतना कार्यक्रम सञ्चालन गर्ने, बिरामी आएमा उपचारको व्यवस्था मिलाउने र लामखुट्टे बस्ने पानीका स्रोत हटाउने तयारी शुरु भइसकेको समेत गुराँैले जानकारी दिनुभयो । पालिकाले पनि स्वास्थ्य शाखालाई सक्रिय बनाएर सरसफाइमा लगानी बढाएको बताएका छन् ।
गाडी बनाउने ग्यारेज, पानी जम्ने पोखरीलगायत सफा राख्न र घरघरमा पनि खुला ड्रममा पानी नराख्न आग्रह गरिएको बागलुङ नगर स्वास्थ्य कार्यालय प्रमुख रामप्रसाद खनालले बताउनुभयो । सफा पानीमा लामखुट्टेले फुल पार्ने र डेङ्गु लामखुट्टेकै टोकाइबाट सर्ने भएकाले झुल टाँगेर सुत्न आग्रह गर्दै खनालले एकपटक सङ्क्रमण भएपछि दोहोरिने दर बढी भएकाले पहिल्यै सचेत हुनुपर्ने खनालले बताउनुभयो ।