संग्राहलय निर्माण तथा व्यवस्थापनमा सक्रिय

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शनिबार, बैशाख २७ २០७७

बागलुङ नगरपालिका वडा नम्वर १० का महिलाहरु संग्राहलय निर्माण तथा व्यवस्थापनमा सक्रिय भएका छन् ।
कोरोना भाइरसको संक्रमण र लकडाउनको प्रभावका बिचमा पनि बानपा १० भकुण्डेका महिलाहरु संग्राहलय निर्माण तथा व्यवस्थापनमा लागि परेका हुन् ।
पुरानो पुस्ताले प्रयोग गर्दै आएका तर पछिल्लो समय लोप हुदै गएका सामग्री जुटाएर संग्राहलय निर्माण तथा व्यवस्थापन गर्न लागिएको भकुण्डेकी अगुवा महिला तथा मिलिजुली महिला समुहका सदस्य मुना थापाले बताउनुभयो ।
भकुण्डेका महिलाहरुको नेतृत्वमा निर्मित महिला समुहको एक भवनमा पुराना सामग्री संकलन गरेर राखिएको र त्यहाँ पुग्ने जो कोहीले तत्कालका लागि निशुल्क रुपमा अवलोकन गर्ने ब्यवस्था मिलाईएको थापाले बताउनुभयो । स्थानिय जनजाति लगायत भकुण्डेबासीले प्रयोग गर्दै आएका पुरानो संस्कृति र संस्कार झल्काउने सामाग्रीको खोजी गरी संरक्षण तर्फ जुटेको उहाँको भनाई थियो ।
उहाले महिला समुहको भवनमा लोप हुन लागेका सामानहरु पुरानो पुस्ताले प्रयोग गर्दै आएको बाण, पञ्चेबाजाका सेट, काठका ठेकी तथा अन्य लोप हुन लागेका सामग्री संकलन र संरक्षणमा गरिएको बताउनुभयो ।
२०७४÷ ०७५ सालमा बागलुङ नगरपालिका, तत्कालिन जिल्ला बिकास समिति र बिभिन्न सघं÷ संस्थाको सहयोगमा मिलिजुली महिला समुहको भवन निर्माण भएको थियो । बिशेष गरि स्वान नेपालको सहयोग र श्रमदान गरि करिव ३२ लाखको लागतमा संग्राहलय सहित तालिम हल र समुहको कार्यालय निर्माण भएको सदस्य थापाले बताउनुभयो ।