दुई गैरसरकारी संस्थाले स्वास्थ्य दियो स्वास्थ्य सामग्री

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
मंगलबार, बैशाख २३ २០७७

स्वास्थ्य कार्यालय बागलुङलाई जिल्लामा क्रियाशिल दुई गैरसरकारी संस्थाले स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेका छन् ।
भीमापोखरा युवा क्लब (बिवाईसी) र धौलागिरी एकिकृत ग्रामिण बिकास केन्द्र (डिआईआरडिसी) बागलुङले स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।
फेयरमेड नेपाल मार्फत जिल्लाका ६ स्थानीय तहमा ग्रामिण स्वास्थ्य सुधार परियोजना सञ्चालन गरिरहेको बिवाईसीले सम्बन्धित स्थानीय तहका स्वास्थ्य संस्थालाई उपलव्ध गराउने गरी सामग्री हस्तान्तरण गरेको हो ।
स्वास्थ्य कार्यालय मार्फत परियोजना सञ्चालनमा रहेका गाउँ तथा नगरपालिकाका स्वास्थ्य संस्थालाई सामग्री हस्तान्तरण गरिएको बिवाइसीका उपाध्यक्ष तोयानाथ गौतमले बताउनुभयो । जिल्लाको गलकोट, ढोरपाटन नगरपालिका, तमानखोला, निसीखोला, बडिगाड र बरेङ गाउँपालिकामा परियोजना सञ्चालनमा रहेको छ ।
फेरमेडको सहयोगमा क्लबले ६० थान पर्सनल प्रोटेक्टिभ इक्युपमेण्ट (पिपिई) २० थान ग्वोस्, १ सय थान एन–९५ मास्क, ५ सय थान सेनिटाईजर, १५ थान ज्वरो नाप्ने थर्मल गन, सर्जिकल मास्क १ हजार थान लगायत ४ लाख ५५ हजार ९ सय ७१ रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरेको हो ।
फेयरमेडका प्रतिनिधि तथा क्लबका उपाध्यक्ष सम्मिलित टोलीले स्वास्थ्य कार्यालय पुगेर जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगाना र स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौलाई सामग्री हस्तान्तरण गर्नुभएको थियो ।
यसैबीच, डिआईआरडिसीले विदेशमा बसोबास गर्ने नेपालीहरुले संकलन गरेर पठाएको सहयोगमा खरिद गरिएका स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालयलाई उपलव्ध गराएको छ । जिल्लाभर रहेका ६१ वटा स्वास्थ्य संस्थालाई सामग्री पुग्नेगरी लण्डनमा रहेका कृष्ण प्रसाद शर्मा र स्पेनमा रहेका एकराज गिरीले त्यहाँ रहेका नेपालीसंग आर्थिक संकलन अभियान चलाउनु भएको थियो ।
उनीहरुले डिआईआरडिसी मार्फत स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री उपलव्ध गराएका हुन् । उनीहरुले ७० थान पिपिइ, ४ हजार थान सर्जिकल मास्क र १ सय ३० थान ग्वोवस् उपलव्ध गराएका थिए । संस्थाका अध्यक्ष केवी राना मगरले उक्त सामग्रीहरु कार्यालय प्रमुखलाई हस्तान्तरण गर्नु भएको थियो ।
यस्तै एकीकृत ग्रामीण स्रोत विकास केन्द्रले १५ जना विद्यार्थीलाई खाद्यान्न राहत स्वरुप प्रदान गरेको छ । केन्द्रले सञ्चालन गर्दै आएको पलम्बर तथा सिलाई बुनाई तालिममा सहभागीहरुलाई राहत स्वरुप खाद्यान्न प्रदान गरेको हो ।
कोरोना भाइरसको त्रास र लकडाउनका कारण तालिम स्थगन गरिएपनि घर जान नपाएका १५ जना विद्यार्थीहरुलाई एक बोरा चामल र दुई केजी नूनका दरले खाध्यन्न सहयोग गरेको एकीकृत ग्रामीण स्रोत विकास केन्द्रका अध्यक्ष केबी रानाले जानकारी दिनुभयो ।