मातृशिशु स्वास्थ्य क्लिनिक स्थानान्तरण

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
सोमबार, बैशाख २२ २០७७

बागलुङ नगरपालिकाले ३२ बर्षदेखि धौलागिरी अञ्चल अस्पतालमा सञ्चालन गरिरहेको मातृशिशु स्वास्थ्य सेवा क्लिनिक साविक जिल्ला बिकास समिति बागलुङको भवनमा स्थानान्तरण गरिएको छ ।
अंचल अस्पताललाई कोरोनाका बिरामीको उपचार गर्ने हबको रुपमा विकास गरिएसँगै नगरले उक्त क्लिनिक आइतबार स्थानान्तरण गरेको हो ।
बागलुङ नगरपालिकाको मातहतमा रहेको साविक जिल्ला विकास समितिको भवनमा क्लिनिक स्थानान्तरण गरिएको जनस्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो । कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेका गर्भवती महिला तथा नवजात शिशुहरुलाई जोखिमबाट जोगाउन क्लिनिकनै आफ्नै भवनमा रहनेगरी स्थानान्तरण गरिएको खनालले बताउनुभयो ।
२०४४ सालमा तत्कालिन जिल्ला अस्पताल रहेकै बेला बागलुङ नगरपालिकाले व्ययभार व्यहोर्नेगरी अस्पतालमा मातृशिशु स्वास्थ्य सेवा क्लिनिक सञ्चालनमा आएको थियो । नयाँ ठाउँमा सञ्चालन गरिएको क्लिनिकबाट पहिलो दिनमै ५५ जना गर्भवतीले सेवा लिएको बताइएको छ ।
क्लिनिकका लागि नगरपालिकाले ५ जना स्वास्थ्यकर्मीको दरबन्दी कायम गरेको छ । हप्तामा दुई दिन खोप, दुई दिन गर्भजाँच र बाँकी सबै दिन परिवार नियोजनका कार्यक्रम सञ्चालन हुने शाखाका अहेब डिल्ली आचार्यले बताउनुभयो । आइतबारदेखी आधारभूत र अत्यावश्यक सेवा प्रबाह गर्नेगरि क्लिनिक सञ्चालनमा आएको उहाँले बताउनुभयो ।
स्वास्थ्यकर्मीलाई सुरक्षा सामग्री सहित सेवामा लाग्न भनिएको छ । अञ्चल अस्पतालमा कोरोनाका बिरामीको उपचार गर्न थालेपछि क्लिनिक तीन हप्ता बन्द भएको थियो । क्लिनिकले खोप, प्रसुती र परिवार नियोजन सेवा दिँदै आएको छ । साधारण चेकजाँचका कामले भने सेवाग्राहीलाई क्लिनिक नआउन शाखाले अनुरोध गरेको छ ।
कोरोना संक्रमित बिरामीहरु उपचार पश्चात घर फर्किएपछि अवस्था सामान्य बन्दै गएको भएपनि भविश्यमा हुन सक्ने सम्भावित जोखिमलाई ख्याल गर्दै क्लिनिक हस्तान्तरण गर्नुपरेको नगरपालिकाले जनाएको छ ।