लकडाउनमा शहरी क्षेत्रबाट म्याग्दी आएकालाई क्वारेन्टाइनमा

धौलागिरी एफएम संवाददाता, म्याग्दी / प्रकाशित मिति :
शनिबार, बैशाख १३ २០७७

काठमाडौं लगायत शहरी क्षेत्रबाट म्याग्दीमा आएका एक सय जनाभन्दा बढी सर्वसाधारणलाई क्वारेन्टाइन (एकान्तबास)मा राखिएको छ ।
कोभिड–१९ जिल्ला कमाण्ड पोष्ट म्याग्दीको निर्णयअनुसार उनीहरुलाई स्थानीय तहले बनाएको क्वारेन्टाइनमा पठाइएको हो । कोरोना भाइरस रोकथामका लागि एक महिनादेखि जारी लकडाउन (बन्दाबन्दी)का कारण सहरी क्षेत्रमा फसेकाहरु गाउँ फर्किएका थिए ।
स्थानीय तह, प्रशासन र सुरक्षा निकायको समन्वयमा जिल्लामा आएका १ सय १२ जनालाई सम्बन्धित पालिकाले बनाएको एकान्तबासमा राखिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो ।
काठमाडौबाट शुक्रबार म्याग्दीमा धवलागिरी गाउँपालिकाका ८४, बेनी नगरपालिकाका ९ जना, मंगला गाउँपालिकाका ५ जना, मालिकाका १०, रघुगंगाका ३ र अन्नपूर्ण गाउँपालिकाका ३ जना आएका थिए । यसअघि बुटबलबाट २६ र काठमाडौबाट ३१ जना आएका थिए ।
यसअघि एक सय जनाभन्दा बढीलाई क्वारेन्टाइनमा राखिएको छ । हालसम्म १ सय ५४ जनामा कोरोनाको द्रुत परीक्षण भएकोमा सबैलाई कोरोना नभएको पुष्टि भएको छ । जिल्लाभर १ सय ७५ जना क्षमताको क्वारेन्टाइन बनाइएको छ । बाहिरी जिल्लाबाट आएकाहरुलाई उनीहरुको गाउँ नजिकैको क्वारेन्टाइनमा राखिएको हो ।