गुनासो नआउने गरी उपचार गर्न ः मुख्यमन्त्री गुरुङ्ग निर्देशन

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
शनिबार, चैत्र २९ २០७६

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना संक्रमित बागलुङका दुई जना बिरामीलाई राम्रोसँग उपचार गर्न आग्रह गर्नु भएको छ ।
कोरोना संक्रमित बागलुङकी १९ बर्षिया युवती र ६५ बर्षिया महिला पौडेलसँग टेलिफोनमा कुराकानी गरेपछि मुख्यमन्त्री शुक्रबार धौलागिरी अञ्चल अस्पतालको अवलोकनमा आउनुभएको थियो ।
अवलोकन पछि अस्पताल विकास समिति, स्वास्थ्यकर्मी तथा स्थानीय सरोकारवालासँग छलफल गर्दै मुख्यमन्त्री गुरुङले संक्रमित दुवै महिलाहरुको स्वास्थ्य उपचारमा अभाव र गुनासो नरहने गरी उपचार गर्न निर्देशन दिनुभयो ।
उहाँले अस्पतालमा आवश्यक सघन उपचार कक्ष (आईसियु) निर्माण र संचालनको लागि बजेट र जनशक्तिको अभाव नहुने आश्वासन दिनुभयो । मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशले आफु मातहतका अस्पताललाई ५ बेडको आइसोलेसन निर्माण गर्न निर्देशन दिएको र बागलुङमा चार बेडको भएकाले तत्काल बढाउन निर्देशन दिनुभयो ।