बागलुङ जिल्लामा १८ जनाको स्वाव परिक्षण

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
बुधबार, चैत्र २६ २០७६

बिश्वभर माहामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस संक्रमणको आशँकामा बागलुङ जिल्लामा हाल सम्म १८ जनाको स्वाव परिक्षण गरिएको छ ।

कोरोना भाइरस संक्रमणको आशँकामा बागलुङ जिल्लावाट हालसम्म स्वाव परिक्षण गरिएका १८ जना मध्ये २ जनाको रिपोट पोजेटिभ आएको छ भने १६ जनाको रिपोट नेगेटिभ देखिएको छ ।

बेल्जीयमबाट कतार एयरवेज हुदै आएकी बानपा ४ कुडुलेकी १७ बर्षिया एक किशोरी र बानपा ३ गौडाकोटकी ६५ बर्षिया एक महिला गरि २ जनाको रिपोर्ट पोजेटिभ आएको र उनिहरुको धौलागिरि अञ्चल अस्पतालमा उपचार भैरहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।

उनिहरुको आइसोलेसनमा राखि उपचार भैरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले जानकारी दिनुभयो । संक्रमित युवती र महिलाको परिवार, आफन्त, उनिहरुसंगै आएका युवा र लिन गएका व्यक्ति सहित अन्य १६ जनाको रिपोर्ट नेगेटिभ आएको प्रमुख गुरौले बताउनुभयो ।

रिपोर्ट नेगेटिभ आएपनि उनिहरुलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको जानकारी दिदै प्रमुख गुरौले बागलुङको बरेङ गाउंपालिकामा क्वारेन्टाइनमा बसेका ८ जनाको पनि थ्रोट स्वाब संकलन गरिएको बताउनुभयो ।

कैलालीका कोरोना संक्रमित दुई युवासंगै भारतको गौरीफन्टा बाट आएका बरेङका ४ जना र अन्य बिभिन्न मुलुकबाट आएका ४ जना गरी ८ जनाको स्वास्थ्यकर्मीको टोलिले नमुना संकलन गरेको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

स्वास्थ्य कार्यालय बागलुङको टोलीले बरेङ स्थित जनता प्रावि क्वारेन्टाइन र सर्वोदय माविमा रहेको क्वारेन्टाईनमा पुगेर थ्रेट स्वाब संकलन गरेको हो । उनीहरु भारतको कर्नाटकबाट धनगढी हुँदै पाल्पामा ७ दिन बसेर बागलुङको बरेङ आएका थिए । बरेङ आएको दिन देखिनै सर्बोदय माविको क्वारेन्टाइनमा बसिरहेका उनीहरुको थ्रेट स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख गुरौले बताउनुभयो ।

यसैबिच जिल्लामा ¥यापीट टेष्ट गर्ने भनेर मन्त्रि परिषदले निर्णय गरेपनि गुणस्तरमा शंका उत्पन्न भएकाले केन्द्रदेखी चेकजाच गरेर भरपर्दो भएपछि मात्र शुरु गरिने भएको धौलागिरी अञ्चल अस्पताल बागलुङका निमित्त मेडिकल सुपरिटेन्डेन डा. शैलेन्द्र बि पोखरेलले बताउनुभएको छ ।

मन्त्रालयले बागलुङमा विदेशबाट आएका झण्डै ९ सय र संक्रमण देखिएका दुईजनाका छिमेकी सहित झण्डै एक हजारको परीक्षण गर्नुपर्ने बताएको भएपनि ¥यापीट टेष्ट प्रक्रिया अन्यौलमा रहेको पोखरेलले बताउनुभयो । कोरोनाले नेपालमा दोस्रो चरण लिइसकेकोले समुदाय तहको परीक्षणका लागि छिटो परीक्षण अपरिहार्य भए पनि कार्यान्वयनमा ढिलाइ भइरहेको उहाँले बताउनुभयो ।

स्वाब परीक्षण गर्ने विधि ढिला भएकाले कोरोनाको द्रुर्त परीक्षण थालिएको हो । स्वाबबाट गर्दा २४ देखि ४८ घण्टा सम्म लाग्नेमा सानो किटबाट गर्न सकिने द्रूर्त परीक्षणमा १० देखि १५ मिनेटमै उक्त किटले एक जनाको रगत परीक्षण गर्न सक्ने स्वास्थ्य कार्यालयका प्रमुख गुरौले बताउनुभयो ।

तर उक्त किटबारे गुणस्तरमा विवाद रहेकाले परीक्षण पश्चात मात्रै जिल्लामा ¥यापिड टेष्ट मास्क स्केलमा गर्न सकिने गरी ल्याउने तयारीका कारण ढिलाई भएको हुन सक्ने गुरौले बताउनुभयो ।