पर्वतमा विदेशबाट फर्केका सवैको परिक्षण गरिने

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
सोमबार, चैत्र २४ २០७६

पर्वतमा चैत्र महिना यता बिदेशबाट फर्केका सबै मानिसको थ्रोड स्वाब संकलन गरि परिक्षण गर्न शुरु गरिएको छ ।
बदेशबाट फर्केपछि परिवार संगै घुलमिल भएर बसेका कारण जोखिम बढेको निष्कर्ष सहित बिदेशबाट फर्केका सबै ब्यक्तिको कोरोना परिक्षण गर्न लागेको हो । संक्रमित लुकेर बसेको आशंकामा बिदेशबाट फर्केका सबैको परिक्षण हुने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय पर्वत र पर्वत अस्पताल पर्वतको संयुक्त टोली गठन गरेर आइतवारदेखि नै थ्रोड स्वाब संकलन शुरु गरेका छन । पहिलो चरणमा भारत बाहेकका अन्य देशबाट फर्केका ब्यक्तिको स्वाब संकलन गर्ने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा. भोजराज गौतमले जानकारी दिनुभयो ।
थ्रोड स्वाब संकलनको काम कुस्मा नगरपालिकाबाट शुरु गर्न लागिएको छ । बिदेशबाट आएकाहरुलाई कुस्मा बोलाएर थ्रोड संकलन गरिएको छ भने फलेबास नगरपालिकामा यसपछि संकलन गर्ने तयारी छ । जिल्ला स्वास्थ्य कार्यालय पर्वतका अनुसार जिल्लामा चैत्र यता पर्वतमा ३ सय १६ जना बिदेशबाट आएका ब्यक्ति रहेका छन ।
त्यस मध्ये भारत बाहेक अन्यत्र मुलुकहरुबाट आउनेको संख्या १ सय ३ जना रहेको छ भने भारतबाट २ सय १३ जना आएका छन । केही गाउँमा भारतबाट नयाँ मानिस आएपनि उनीहसरुको तथ्याँक संकलन हुन नसकेको बताइएको छ ।
पैंयु गाउँपालिकामा केही मानिस भारतबाट आएको सुचना भएपनि उनीहरुसंग सम्पर्क नभएको पाइएको छ । बिदेशबाट फर्केकाहरुलाई जिल्ला स्वास्थ्य कार्यालय र पर्वत अस्पतालको टिमले नियमित फोन सम्पर्क भने गरिरहेका छन ।
सबैलाई फोन गरिएको र फोन कुरा गर्दा उनीहरुमा खासै समस्या भने नदेखिएको जिल्ला अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डेन्ट डा. शिशिर देबकोटाले बताउनुभयो । कतिपयलाई सामान्य रुघाखोकी लागेको र निको भएको पनि बताउने गरेका छन ।
बिदेशबाट फर्केकालाई राख्नका लागि पर्वत जिल्लाभर स्थानिय तहले ३ सय ६३ बेड का क्वारेन्टाईन बनाएका छन । घर परिवारले नै बिदेशबाट फर्केका आफन्तलाई क्वारेन्टाईनमा पठाउनु पर्नेमा क्वारेन्टाइनमा बस्नु पर्दा जेल जाँदा भन्दा बढी कठिन मानेका कारण समस्या देखिएको छ । क्वारेन्टाईनमा बस्न सुझाब दिदा उल्टै गालीगलौज गर्ने समस्या देखिएको पाइएको छ ।
स्थानिय तहका प्रमुख र प्रतिनिधीहरुले पनि क्वारेन्टाईन बनाउने तर बस्नका लागि प्रेरित नगर्दा समस्या भएको छ । जनप्रतिनीधिले गाउँमा बिदेशबाट आएर बसेकालाई खोजी खोजी क्वारेन्टाईनमा पठाउने काम पहिलो कर्तब्य भएपनि उनीहरु बेड बनाएको प्रचार गर्ने काममै बढी सक्रिय भएको आरोप बिज्ञहरुले लगाउँदै आएका छन ।
आफ्नो क्षेत्रलाई सुरक्षित बनाउने हो भने क्वारेन्टाईनमा बस्न लगाउने एउटा मात्रै उत्तम उपाय भएपनि कार्यान्वयन गर्न कठिन भएको छ । फलेबास नगरपालिकाले छिमेकी जिल्लाबाट आएकालाई पनि क्वारेन्टाईनमा राखेको छ । पछिल्लो समय जनप्रतिनीधि राहत बाँडेर राजनिती गर्नमा बढी ध्यान दिएको पाइएको छ ।