धौलागिरि अञ्चल अस्पतालमा आएको भेण्टिलेटर चालु अवस्थामा, आईसियूसंगै जोड्ने तयारी

धौलागिरी एफएम, बाग्लुङ / प्रकाशित मिति :
शुक्रबार, चैत्र २१ २០७६

प्रादेशिक स्वास्थ्य निर्देशनालयले दोस्रो पटक पठाएको भेण्टिलेटर धौलागिरी अञ्चल अस्पताल बागलुङमा चालु अवस्थामा राखिएको छ ।

अघिल्लो साता पठाईएको भेण्टिलेटर अस्पतालले सामान अपुरो रहेको भन्दै बुझ्न अस्विकार गरेको थियो । पूर्ण सामग्री नरहेको भन्दै अस्पतालले बुझ्न इन्कार गरेपछि निर्देशनालयले दोस्रो पटक पठाएको भेण्टिलेटर आएपछि चालु अवस्थामा राखिएको हो ।

चालु अवस्थामा राखिएको भेन्टिेलेटर आइसियुसंगै जोड्ने तयारी भएको अस्पताल व्यवस्थापन समतिका अध्यक्ष केवि रानाले बताउनुभयो । स्वासप्रस्वासमा समस्या आए भेन्टिलेटरले सहयोग गर्ने जानकारी दिदै अस्पतालका डा. प्रदिप श्रेष्ठले आईसियु नभएकाले मुटु र मृगौलामा समस्या आए कसरी समाधान गर्ने भन्ने चिन्ता रहको बताउनुभयो ।

कोरोनाका बिरामीको उपचार गरिरहेको अस्पतालका लागि भेण्टिलेटर आवश्यक रहेको थियो । आपतकालिन अवस्थामा बिरामीलाई सघाउन मेसिनले सहयोग गर्ने डाक्टर श्रेष्ठले बताउनुभयो ।

अस्पतालमा अहिले कोरोना संक्रमण पुष्टि भएका दुई जना बिरामीको उपचार भैरहेको छ । यदि उनीहरुमा गम्भिर खालको संकेत देखापरे सघन उपचारकक्षको आवश्यकता हुने अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डाक्टर शैलेन्द्र बि पोखरेलले बताउनुभयो ।

अस्पतालमा सघन उपचार कक्ष (आईसियु) सञ्चालनका लागि पहल भैरहेको जानकारी उल्लेख गर्दै केन्द्र सरकारले एक करोड बजेट पठाएको जानकारी प्राप्त भएकाले समितिको खातामा जम्मा हुना साथ आइसियु निर्माण गरिने अध्यक्ष रानाले बताउनुभयो ।

अध्यक्ष केवि रानाले अस्पतालको क्षमताले भेट्ने पूर्वाधारको तयारीमा लागेको जानकारी दिदै सरकारले सहयोग गरे भेण्टिलेटर मात्रै नभइ आइसियु पनि चलाउन सकिने बताउनुभयो ।

तत्काल आईसियू सञ्चालनका लागि अस्पतालसँग जनशक्तिको भने अभाव देखिएको छ । आईसियू प्रयोगमा ल्याउन तालिम प्राप्त नर्सको आवश्यकता हुने जानकारी दिदै डाक्टर पोखरेलले त्यस्तो खालको जनशक्ति नभएकाले भेण्टिलेटरले मात्रै थेग्न नसक्ने अवस्था आएमा बिरामी पोखरा पठाउनुको विकल्प नरहेको बताउनुभयो ।