संक्रमित युवतीको परिवारको ५ जना सदस्यको रिपोर्ट नेगेटिभ

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
बिहिबार, चैत्र २០ २០७६

कोरोना संक्रमित बागलुङकी १९ बर्षिया युवतीको परिवारका ५ सदस्यको नमुना परीक्षण रिपोट नेगेटिभ आएको छ ।
बेल्जियमबाट कतार हुँदै बागलुङ आएकी बागलुङ नगरपालिका–४ की किशोरीमा भाइरस संक्रमण देखिएपछि उनको ७ जनाको परिवारको स्वाब परीक्षणको लागि काठमाडौं पठाइएकोमा ५ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।

प्रमुख गुरौले दिएको जानकारी अनुसार संक्रमित युवतीका बुबा, हजुरबुबा, फुपु, फुपुका एक छोरा र एक छोरीको रिपोर्ट नेगेटिभ आएको हो । अव उनको परिवारमा हजुर आमा र फुपुको छोरीको रिपोर्ट आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।
शनिबार किशोरीमा भाइरसको संक्रमण देखिएपछि सोमबार दिउँसो उनीसँगै बुबा, हजुरबा, हजुरआमा, फुपु र फुपुका छोराछोरी गरी ८ जनाको स्वाब परीक्षणको लागि राष्ट्रिय प्रयोगशाला काठमाडौं पठाइएको थियो ।
यस्तै उनीसँगै आएकी बानपा–३ की एक महिला र उनलाई ल्याउन काठमाडौं गएका पुरुष सहित उनी सवार विमानमा कतारदेखि आएका ढोरपाटन नगरपालिका–५ अधिकारीचौरका युवाको स्वाब परीक्षणको लागि पठाइएको छ । हालसम्म ५ जनाको मात्र रिपोर्ट आएको र अरुको आउन बाँकी रहेको प्रमुख गुरौले जानकारी दिनुभयो ।
अन्यको आज सम्ममा रिपोर्ट आइपुग्ने उहाँले बताउनुभयो । १० जनाको रिपोर्ट नेगेटिभ आएको भनिएपनि आधिकारी रुपमा ५ जनाको आएको गुरौले बताउनुभयो ।
संक्रमित युवतीलाई शनिबारदेखि धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ । उनको अवस्था सामान्य रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर शैलेन्द्र वि पोखरेलले जानकारी दिनुभयो ।
यसैबिच बागलुङबाट थप एक युवाको नमुना परीक्षणको लागि पठाइएको छ । काठेखोला गाउँपालिका–४ तंग्रामका एक युवामा कोरोना संक्रमणको आशंकामा स्वाब परीक्षणको लागि पठाइएको हो ।
चैत ७ गते स्पेनबाट घर आएका उनलाई ज्वरो आउने समस्या देखिएपछि बुधबार नमुना परीक्षणको लागि पठाइएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो । जिल्ला स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट डिल्ली आचार्यको टोलीले मंगलबार युवाको घरमै पुगेर घाँटीको स्वाब निकालेको थियो । उनी हाल होम क्वारेन्टाइनमा बसेको बताइएको छ ।