बिरामीको संख्यामा कमी

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
बिहिबार, चैत्र २០ २០७६

कोरोना भाइरस कोभिड १९ को त्रासका कारण धौलागिरी अञ्चल अस्पताल बागलुङमा बिरामीको संख्यामा कमी आएको छ ।
पछिल्लो समय बिशेषज्ञ डाक्टर र भौतिक संरचनामा सुधार हुदै गएपछि निकै भिडभाड हुने गरेको अस्पतालमा कोरोना भाईरसको जोखिमका कारण बिरामीहरु उपचार गर्न आउन छोडेका हुन् ।
कोरोनाको जोखिम कम गर्नका लागि मुलुकनै लकडाउन गरेपछि बिरामीको संख्या पनि न्युन बन्दै गएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर शैलेन्द्र बि पोखरेलले बताउनुभयो ।
कोरोना संक्रमणको त्रासले यतिबेला अस्पतालको ओपीडी वार्ड प्राय जसो सुनसान हुने गरेको र कोरोना भाईरस हुन सक्ने आशंकामा बिरामीको चाप ह्वात्तै घटेको डाक्टर पोखरेलले जानकारी दिनुभयो । ईमरजेन्सी केसमा बाहेक अन्य बिरामीको मात्रा पहिलेको तुलनामा निकै कम भएको उहाँले बताउनुभयो ।
अस्पतालमा अहिले ईमरजेन्सी केस, घाउ चोटपटक लागेर, तथा दमको समस्या र पुरानो औषधी खाएका बिरामी मात्र आउने गरेको डाक्टर ढुण्डीराज पौडेलले बताउनुभयो । अस्पतालबाटै असुरक्षित हुने डरले बिरामी नआउने गरेको उहांको भनाई छ ।
ओपीडीमा बिरामी नआएपनि अस्पतालमा ईमरजेन्सी र प्रसुति वाडमा भने न्युन मात्रामा आउने गरेका छन् । अस्पतालमा कोरोना पोजेटिभ बागलुङकी एक युवतीको उपचार भईरहेको र स्वास्थ्यमा उल्लेखनिय सुधार आएको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले जानकारी दिनुभयो ।
एक युवतीमा कोरोनाको भाइरस देखिएपछि धौलागिरी अञ्चल अस्पताल बागलुङमा कोरोनाको उपचार तथा रोकथामका लागि सहज सेवा पु¥याउने उदेश्यले गण्डकी प्रदेश सरकारले भेन्टिलेटर समेत पठाएको थियो । भेन्टीलेटर अपुर्ण रहेकोले बाँकी आवश्यक सामग्री आएपछि मात्र संचालनमा ल्याउने तयारी भएको अध्यक्ष रानाले बताउनुभयो ।