अंचल अस्पतालमै उपचार सुरु, थप दुई जनाको नमुना संकलन

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
सोमबार, चैत्र १७ २០७६

बागलुङ नगरपालिका– ४ कुँडुलेकी कोरोना संक्रमति १७ वर्षीया किशोरीको धौलागिरी अञ्चल अस्पताल उपचार सुरु भएको छ ।
घरमै सेल्फ क्वारेन्टाइनमा बस्दै आएकी युवतीलाई कोरोना संक्रमणको पुष्टी भएसँगै अस्पतालको आइसोलेसनवार्डमा शनिबार राति भर्ना गराएर उपचार थालिएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।
‘संक्रमित किशोरीको अवस्था सामान्य छ, आत्तिनु पर्ने अवस्था छैन,’ धौलागिरी अंचल अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन डा. शैलेन्द्र वि. पोख्रेलले भन्नुभयो, स्वाथ्यकर्मीकै प्रत्यक्ष निगरानीमा आइसोलेसनमा राखेका छौं ।’
विरामीलाई ज्वरो छैन र सामान्य खोकी मात्रा रहेको हुँदा सामान्य औषधीको प्रयोग गरेको उहाँले बताउनुभयो । ‘विरामीको अवस्था स्थिर छ’ डा. पोख्रेलले भन्नुभयो–‘उहाँलाई मनोवैज्ञानिक ढंगबाट पनि परामर्श गरेका छौँ ।
किशोरीलाई मोवाईल चलाउन दिइएको छ । किशोरीसँग दिनका न्युनतम १५÷२० पटक जानकारी लिने र सल्लाह, परामर्श गर्ने व्यवस्थापन गरेको डा. पोख्रेलको भनाई छ । गत चैत्र १२ गते बागलुङ नगरपालिकाको पहलमा धौलागिरी अस्पतालका स्वास्थ्यकर्मीको टोली घरमै पुगेर नमुना संकलन गरिएको थियो ।
नमुना संकलन गरेर टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाण्डौं पठाइएको स्वाब परीक्षणमा शनिवार कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
संक्रमित युवती बेल्जियममा रहेका आमा बुवा भेटन दुई महिना अघि युरोप पगेकी थिईन । दुई महिना घुमेर गत चैत ४ गते कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् ।
त्यही विमानमा आएकी १९ वर्षीया काठमाण्डौकी युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो । संक्रमति युवतीसँगै एउटै पेलेनमा आएका बागलुङ ढोरपाटन नगरपालिका–५ अधिकारीचौरका एक युवा र बागलुङ नगरपालिका–३ एक महिलाको पनि स्वास्थ्य परीक्षणको तयारी भएको छ ।
दुवै जना अहिले आफ्नै घरमा एकान्तबासमा रहेका छन् । बूर्तिवाङमा स्वास्थ्य कार्यालयकाबाट ल्याव टेक्नीसिय डिल्लीप्रसाद आचार्य आवश्यक सुरक्षा सामाग्री तथा स्वाव संकलन किट सहित जानु भएको छ भने बानपा–३ मा धौलागिरी अंचल अस्पतालको ल्याव टेक्निसियनले सहयोग गर्ने स्वास्थ्य कार्यालयका प्रमुख गुरौको भनाई छ ।
स्वास्थ्यकर्मीको टोली बूर्तिवाङ्ग पुगेको हुनाले युवाको नमुना सोमबार लिईने छ । स्वास्थ्य कार्यालयले संक्रमित किशोरीका परिवार सदस्यको समेत स्वास्थ्य परीक्षणको तयारी गरेको छ ।
सोमबार नमुना संकलनमा प्रयोग हुने किट प्राप्त भए पछि परिवारका सदस्यको ‘स्वाव’ परीक्षणको लागि पठाईने छ । आईतबार र सोमबार संकलन भएका नमुना एकै पटक परीक्षणको लागि काठमाण्डौ पठाउने कार्यालय प्रमुख गुरौले बताउनुभयो ।