पर्वतमा १४ जना विशेषज्ञ डाक्टर तयारी अवस्थामा

धौलागिरी एफ.एम. संवाददाता, पर्वत / प्रकाशित मिति :
मंगलबार, चैत्र ११ २០७६

कोरोना रोगको उपचार गर्नका पर्वतका स्वास्थ्यकर्मीहरु तैनाथी अवस्थामा रहेका छन् ।
पर्वत कोरोना अस्पताल सञ्चालक समिति गठनको अवसरमा पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले १४ जना विशेषज्ञ डाक्टर कोरोनाको उपचारका लागि तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।
अस्पतालमा १२ जना र दुई वटा प्राथमिक स्वास्थ्य केन्द्रहरुमा १÷१ जना विशेषज्ञ डाक्टर तयारी अवस्थामा बसीरहेको जानकारी दिनुभयो । जिल्लामा ठुलिपोखरी प्राथमिक स्वास्थ्य केन्द्र र लुंख प्राथमिक स्वास्थ्य केन्द्र रहेका छन ।
सरकारले उपलब्ध गराउनुपर्ने ब्यक्तिगत सुरक्षाका सामाग्रीहरुको अभाव रहेका कारण उपचारमा केहि समस्या देखिए पनि सवै स्वास्थ्यकर्मी उच्च मनोबलका साथ उपचारमा सग्लन्न हुने डा. देवकोटाले प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
उहाँले व्यक्तिगत सुरक्षाका सामाग्रीे प्राप्त नभएको गुनासो गर्नुभयो । सुरक्षाका लागि आवश्यक सामाग्रीहरु अस्थायी रुपमा आफै तयार गरेर प्रयोग गरीरहेको देवकोटाको भनाई छ ।
डा. देवकोटाले भन्नुभयो –‘कतिपय डाक्टर र स्वास्थ्यकर्मीलाई घर फर्कन दवाब छ, तर हामी मैदान छाडेर भाग्ने अवस्थामा छैनौं ।’ कोरोना उपचारका लागि कुश्मा नगरपालिका, जिल्ला अस्पताल, जिल्ला प्रशासन कार्यालय र जिल्लाका सवै पालिकाहरुको सहयोगमा अस्थायी १५ शैयाको अस्पताल कुश्मामा तयार गरिएको छ ।
कोरोनाको आशंका गरिएका विरामी आएमा उनीहरुको उपचार सोहि अस्पतालबाट हुनेछ । अस्पतालमा भेन्टिलेटर सहितको सेवा प्रदान गर्ने तयारी गरिएको छ । डा. देवकोटाले भन्नुभयो –‘अक्सिजन र विरामीको उपचारका लागि आवश्यक इक्युमेटहरुको खरिद प्रक्रिया शुरु भईसकेको छ ।’
विशेषज्ञ डाक्टर र स्वास्थ्यकर्मीले सोहि अस्पतालमा बसेर विरामीहरुको उपचार गर्नेछन । त्यसका लागि डाक्टर र स्वास्थ्यकर्मीको लागि भान्सा घर समेत तयार गरिएको छ । गुप्तेश्वर बहुमुखी क्याम्पसमा उक्त अस्थायी अस्पतालको निर्माण गरिएको हो । अस्पतालमा विरामीका लागि छुट्टै भान्साको ब्यवस्थापन हुनेछ ।