किशोरीसँगै एउटै जहाजमा आएका बागलुङ ढोरपाटनका युवा ‘होम क्वारेनटाइन’मा !

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
मंगलबार, चैत्र ११ २០७६

नोबेल कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित फ्रान्सबाट फर्किएकी किशोरीसँगै एउटै जहाजमा आएका बागलुङ ढोरपाटन नगरपालिकाका एक युवालाई घरमै ‘होम क्वारेनटाइन’ मा सुरक्षित राख्ने तयारी थालिएको छ । परिवार र स्थानीय जनप्रतिनिधीले दिएको जानकारी अनुसार ती युवामा कोरोना संक्रमणको कुनैपनि लक्षण देखा नपरेकाले घरमानै सुरक्षित तरिकाले राख्ने व्यवस्था मिलाउन ढोरपाटनका नगरप्रमुख देव कुमार नेपाली मार्फत आग्रह गरिएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका डा. मिलन मल्लले जानकारी दिए ।
फ्रान्सबाट आएकी युवतीमा कोरोना पोजेटीभ देखा परेपछि उनीसँगै आएका ती युवाको पनि खोजी सुरु भएको थियो । ढोरपाटन नगरपालिकाले खोजी गर्दा ती युवा घरमै रहेको पाइएको छ । ‘उनको बिषयमा जानकारी लिएर हामी घरमै जाँदैछौं’ ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले टेलिफोनमा भने ‘कुनै सिमट्म नदेखिएकाले घरमानै अलग्गै वस्न आग्रह गर्ने की चिकित्सकको सल्लाह छ ।’ नगरप्रमुख, वडाअध्यक्ष र स्वास्थ्यकर्मी सहितको टोली उनको घरमा मंगलवार विहान (अहिले) जाँदैछ । ती युवा फ्रान्सबाट आएर एकरात काठमाडौंमा बसी भोलीपल्ट गृह जिल्ला बागलुङ आएका थिए । अहिले उनी आफ्नै जन्मगाउँमा रहेका छन् । उनी कोरोना संक्रमण भएका किशोरीसँगै आएको खबर सार्वजानिक भएपछि गाउँले भयभित भएका छन् । ‘मैले जिल्लामा पनि कुराकानी गरेको छु भयभित हुने अवस्था होईन’ डा. मल्ले भने ‘उहाँमा कुनैपनि सिमट्म देखा परेको छैन्, सामान्य सिमट्म देखा परेमात्रै स्वाव जाँचको लागि पठाउँछौं ।’ स्वाव जाँच गर्नुपर्ने अवस्था आए जिल्लाकै टोलीले नमुना संकलन गर्ने मल्लले बताए ।
‘विदेशबाट आएका ती युवा गाउँमै रहेको सूचना आएको छ, यो अवधिमा उनले कतिसँग हात मिलाए, भेटघाट गरे । यो जोखिमपूर्ण विषय हो’ मेयर नेपालीले भने, ‘त्यसैले त्यहाँ पुगेर सबै बिबरण लिएपछि आवश्यक प्रकृया थाल्छौं ।’ उनीसँगै आएकी संक्रमित किशोरीको उपचार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भइरहेको छ ।