पत्रकारहरुलाई स्यानीटाइजर र माक्स

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
सोमबार, चैत्र १០ २០७६

बागलुङका विभिन्न संचार माध्यममा क्रियाशिल पत्रकारहरुलाई स्यानीटाइजर र माक्स प्रदान गरिएको छ ।
पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ बागलुङले आइतवार कोरोना भाइरसको बढ्दो जोखिमबाट बचेर राज्यको चौथो अंगको रुपमा अविचलित दायित्व निर्वाह गर्न आग्रह सहित स्यानीटाइजर र माक्स प्रदान गरेको हो ।
कोरोनाको सर्वत्र संक्रमण फैलिए सँगै उच्च जोखिम बढेकाले जिल्लामा क्रियाशिल पत्रकारलाई पहिले आँफु सचेत बनेर मात्रै जनतालाई सचेत बनाउन पुर्ववत सचेतता सामग्री प्रदान गरिएको नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले बताउनुभयो । महासंघलाई रोट्याक क्लव बागलुङले ३० थान स्यानिटाइजर र ७५ थान माक्स प्रदान गरेको थियो ।


धौलागिरी अञ्चल अस्पताल बागलुङका प्रतिनिधि देवप्रकाश घिमिरेले कोरोना भाइरसको सम्भावित रोक्न आवश्यक तयारी र भुमिकामा सबैको हातेमालो आवश्यक भए पनि सञ्चार माध्यम र सञ्चारकर्मीको भुमिका बिशेष रहेको बताउनुभयो । कोरोना संक्रमणबाट बच्ने उपाय हात नमिलाउने र साबुपानीले हात सफा तथा स्यानिटाईजरको प्रयोग उत्तम भएको बताउनुभयो ।

रोट्रयाक्ट क्लव अफ बागलुङका अध्यक्ष सुमित शाहीले विश्वरभर महामरीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिम बढेको र अरु सबैलाई सचेत बनाउने पत्रकार स्वयम् सबै भन्दा बढि जोखिममा भएकाले सचेतताका लागि कोरोना बिरुद्ध पत्रकार महासंघ सँग हातेमालो गरिएको बताउनुभयो ।
ठुलो भीडभाड नगर्ने सरकारले निर्देशन जारी गरेकाले जिल्लाका १९ वटा सञ्चार माध्यमलाई संस्थाका प्रतिनिधि मार्फत सामग्री पठाइएको छ । राष्ट्रिय मिडियामा कार्यरत पत्रकारलाई भने स्यानीटाइजर र माक्स सिधै प्रदान गरिएको रोट्रयाक्ट क्लबका आगामी अध्यक्ष ताराप्रसाद शर्माले बताउनुभयो ।