चैत १० देखि लामो दूरीका यातायात बन्द

ग्यासको कालोबजारी गरे ५ वर्ष कैद हुने
धौलागिरी एफ.एम. संवाददाता / प्रकाशित मिति :
शनिबार, चैत्र ८ २០७६

सरकारले कोभिड–१९ (कोरोना भाइरस) को संभावित संक्रमणबाट रोक्नका लागि चैत १० गतेदेखि लामो दूरीका सार्वजनिक यातायातमा रोक लगाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ राष्ट्रका नाममा गरेको संम्बोधनमा केही अवधिका लागि लामो दूरीका सार्वजनिक यातायातमा रोक लगाइएको उल्लेख गर्नुभयो ।
यस्तै नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु चैत ९ देखि १८ गतेसम्मको लागि स्थगित गरिएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने छ । सीमामा जाँचका सम्बन्धमा छिमेकी मित्रराष्ट्रहरुसँग आवश्यक समन्वय गरिने प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो ।
यसैगरि सरकारले खाना पकाउने ग्यासलगायत अन्य उपभोग्य वस्तुको कालोबजारी गरेमा कारबाही गर्ने निर्णय गरेको छ ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र मन्त्रालयका उच्च अधिकारीको बैठकले ग्यास र उपभोग्य वस्तुको कालोबजारी गरेमा ५ वर्षसम्म कैद गर्ने गरी कानूनी कारबाही अघि बढाउने निर्णय गरेको हो ।
कोरोना भाइरस संक्रमणको त्रास रहेका बेला ग्यासको कालोबजारी भएका कारण उपभोक्ताले नपाएको हुन सक्ने सरकारको भनाइ छ । मन्त्रालयले ग्यास उद्योगले असहयोग गरे अनुमति खारेज गर्ने निर्णय पनि गरेको छ ।
खाद्य व्यवस्था कम्पनी र साल्ट ट्रेडिङको तथा ठूला निजी खाद्य स्टोर, निगमको भण्डारण मौज्दात विवरण सार्वजनिक गर्ने, सबै जिल्लाको खाद्यान्न विवरण संकलन गर्ने निर्णय पनि गरेको मन्त्रालयका एक अधिकारीले बताउनुभयो ।
सरकारले खाद्यान्न अभाव भए हेलिकप्टरबाट भए पनि ढुवानी गर्ने, कर्मचारी कामका लागि २४ घण्टा तयार रहनुपर्ने निर्णय पनि गरेको छ ।