कोरोनाबारे सचेतना फैलाउँदै जनप्रतिनिधि

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
शनिबार, चैत्र ८ २០७६

विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट बच्नको लागि बागलुङ नगरपालिका–१ रामरेखाका घर–घरमा सचेतना कार्यक्रम सुरु गरिएको छ ।
बागलुङ नगरपालिका वडा नम्बर १ को वडा कार्यालयको अगुवाइ र आधारभूत स्वास्थ्य सेवा केन्द्र र सामुदायिक सेवा केन्द्र रामरेखाको सहयोगमा वडाभित्रका घर, घरमा पुगि सचेतना कार्यक्रम सुरु गरेको हो ।
घरदैलो गर्दा कोरोनाको लक्षणा र बच्ने उपायका बारेमा जानकारी गराइएको बागलुङ नगरपालिका वडा नम्बर १ का वडासदस्य सुर्य लामिछानेले जानकारी दिनुभयो । ‘आफु पनि बचौं र अरुलाई पनि बचाऔं’ भन्ने उद्देश्यले भाइरसको संक्रमण फैलिन नदिनको लागि पर्च वितरण गर्दै जनचेतना कार्यक्रम सुरु गरिएको वडा सदस्य लामिछानेको भनाई छ ।
कालिका भगवती मन्दिरबाट सुरु गरिएको सचेतना कार्यक्रममा घर, घरमा पुगि कोरोना भाइरसको सचेतनाबाट बच्नको लागि नियमित रुपमा साबुनपानीले हात धुनुपर्ने, खोक्दा र हाछ्यु गर्दा नाक र मुख छोप्ने, फ्लू जस्तो लक्ष्ण देखिएमा चिकित्सकसँग परामर्श लिने, जंगली तथा घरपालुवा पशुपन्छीसँगको असुरक्षित सम्पर्कबाट टाढा रहने, पशुजन्य मासु तथा अण्डा राम्रोसँग पकाएर मात्र खाने, बाहिर हिड्दा माक्सको प्रयोग गर्ने बारेमा जानकारी गराईएको लामिछानेले जानकारी दिनुभयो ।
६ सय घरधुरी रहेको बानपा–१ म सचेतनाको पहिलो दिन बागलुङ भगवती मन्दिर, भगवती टोल, खत्री टोलमा सम्पन्न गरिएको छ । सचेतना कार्यक्रम वडा भित्रका सम्पूर्ण घरमा पुग्ने वडा कार्यालयले जानकारी दिएको छ ।