बागलुङका २३ हजार बालबालिकालाई दादुरा–रुबेला खोप

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
बुधबार, चैत्र ५ २០७६

बागलुङमा यस वर्ष २३ हजार ५७० बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप दिइने भएको छ ।
देशभर दुई चरणमा संचालन भएको दादुरा–रुबेला खोप अभियान अन्र्तगत बागलुङ बुधाबार अर्थात चैत्र ५ गतेदेखी शुरु हुने अभियान जिल्लाका चार स्थानीय तहमा पहिलो चरण र बाँकी ६ स्थानीय तहमा दोस्रो चरणमा संचालन हुने भएको हो ।
अगामी चैत्र ५ देखी १३ गतेसम्म पहिलो र चैत्र १५ देखी २३ गते सम्म दोस्रो चरणमा अभियान संचालन हुने गण्डकी प्रदेश स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । अभियान नौ दिन सम्म संचालन हुनेछ ।
पहिलो चरणमा जिल्लाको पश्चिम भेग, ढोरपाटन नगरपालिका, बडिगाड, निसीखोला र तमानखोला गाउँपालिकाका हरेक खोप केन्द्रमा संचालन हुनेछ । त्यस्तै दोस्रो चरणमा जिल्लाको बागलुङ नगरपालिका, गलकोट नगरपालिका, जैमिनी नगरपालिका, बरेङ गाउँपालिका, ताराखोला गाउँपालिका र काठेखोला गाउँपालिकामा संचालन हुनेछ ।
अभियान संचालनका निम्ती स्वास्थ्य कार्यालयले सम्पुर्ण तयारी पुरा गरेको छ । कार्यालयले अभियान सवै स्थानीय तह र स्वास्थ्य संस्थालाई जिम्मेवारी हस्तान्तरण गरिसकेको छ । पहिलो चरण अभियानका निम्ती स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेवीका तथा स्वयंसेवक मार्फत आफ्ना बालबालिकालाई खोप लगाउनका निम्ती अभिभावकहरुलाई घरघरमा निमन्त्रणा कार्ड वितरण गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख एवं जनस्वास्थ्य अधिकृत सुरज गुरौले जानकारी दिनुभयो ।
‘पूर्ण खोप लगाऔँ, बालबालिकालाई रोगहरूबाट सुरक्षित गराऔँ, नियमित खोप कुनै पनि नछुटाऔँ’ भन्ने नारासहित अन्य खोपको फाइदा समेटिएको जनचेतनामूलक कार्ड घर–घरमा पुगेर वितरण गर्ने काम अन्तिम चरणमा पुगेको गरौंको भनाई रहेको छ ।
“निमन्त्रणा मार्फत अभिभावकलाई नौ महिना देखी ५ वर्ष भित्रका बालबालिकालाई नजिकैको खोप केन्द्रमा ल्याउन अनुरोध गरिएको छ ।” गरौंले भन्नुभयो “अभियान मार्फत सत प्रतिशत बालबालिकाहरुलाई दादुरा–रुबेला खोप लगाउनुका साथै नियमित खोप सेवालाई पनि सुदृढिकरण गरी गुणस्तरीय र प्रभावकारी खोप सेवा प्रदान गर्ने लक्ष्य राखेका छौं ।”
कार्यालयले अभियान संचालनका निम्ती खोप सेन्टरहरुमा आवश्यक सामाग्री र जनशक्ति तयार पारेको छ । जिल्लामा कुल २३ हजार ५ सय ७० बालबालिकालाई यस वर्ष दादुरा रुवेला विरुद्धको खोप लगाईने छ भने ६ सय खोप केन्द्रबाट बालबालिकालाई खोप सेवा प्रदान गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।