सरकारले विद्यालयहरू ९ बजेदेखि ४ बजेसम्म चलाउने तयारी

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
मंगलबार, चैत्र ४ २០७६

सरकारले देशभर लागू हुने गरी विद्यालय समय बिहान ९ बजेदेखि ४ बजेसम्म तोक्ने तयारी गरेको छ । हाल आधिकारिक विद्यालय समय भने १० देखि ४ छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नयाँ शैक्षिक सत्रदेखि बिहान ९ बजेदेखि ४ बजेसम्म विद्यालय सञ्चालन गर्न÷गराउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका एक जना सचिव महेशप्रसाद दाहालले भन्नुभयोे, ‘यो निर्णय देशभर र सबै विद्यालयहरुमा लागु गर्ने कुरामा छलफल भइरहेको छ, हामी पनि सरोकारवालासँग छलफल गरिरहेका छौं ।’
विद्यालय र अन्य कार्यालयहरु खुल्ने–बन्द हुने समय समान छ । अर्थात निजी हुन् वा सरकारी सबै कार्यालयहरु प्रायः १० बजे खुल्ने र चार वा पाँच बजे बन्द हुने गर्दछन् । कार्यालय समय समान हुँदा सडकमा सवारी साधनको चाप बढ्ने र ट्राफिक जामको समस्या पनि हुने निष्कर्षसहित विद्यालय समय हेरफेर गरिएको अधिकारीहरु बताउँछन् ।
‘खासगरी काठमाडौं उपत्यका र अन्य ठूला सहरमा ट्राफिक जामको समस्या बढेपछि विद्यालयहरु छिटो खोल्ने र छिटो बन्द गर्ने निष्कर्षमा पुगिएको हो,’ शिक्षा सचिव दाहालले भन्नुभयो ।
यो निर्णय खासगरी निजी विद्यालय लक्षित छ । प्रायः सबैजसो बोर्डिङ स्कुलहरुले गाडीबाट विद्यार्थीहरु ओसार्छन् । सार्वजनिक, सरकारी, निजी र विद्यालयका गाडीहरुसमेत एउटै समयमा सडकमा निस्कदा घण्टौं जाम हुने समस्या छ ।
बिहान नौ बजे नै विद्यालय सञ्चालन गर्न व्यवहारिक कठिनाइ हुने निजी विद्यालय सञ्चालकले बताएका छन् । ट्राफिक जामको समस्या समाधानका लागि भन्दै सरकारले नयाँ शैक्षिक सत्रदेखि विद्यालय समय ९–४ बजे तोक्ने तयारी गरेको छ ।
तर, यो निर्णय कार्यान्वयनमा प्राविधिक कठिनाइ हुने प्याब्सन अध्यक्ष टिकाराम पुरीको भनाई छ । साना बालबालिकालाई नौ बजेभित्रै विद्यालय र्पुयाउन र उनीहरुलाई दिउँसोको खाजा खुवाउन गाह्रो हुने पुरीको भनाइ छ ।
‘साना बालबालिका कति बजे उठ्ने, कति बजे खाने, कतिबेला तयार भएर स्कुल जाने ?’ उहाँले भन्नुभयो, ‘नौ बजेभित्रै स्कुल पुग्ने ती बालबालिकालाई दिवा खाजा कसले खुवाउने ?’ कतिपय अभिभावक दिवा खाजाको खर्च व्यहोर्न सक्षम रहे पनि कतिपयले खर्च गर्न नसक्ने उहाँको भनाई छ ।