बडिगाड गाउँपालिकाले नयाँ शैक्षिक सत्रमा विद्यालय मर्ज गर्ने

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
मंगलबार, चैत्र ४ २០७६

बागलुङको बडिगाड गाउँपालिकाले नयाँ शैक्षिक सत्रबाट विद्यालय समायोजन गर्ने तयारी गरेको छ ।
बडिगाड गाउँकार्यपालिकाको ६० औं बैठकले विद्यालय समायोजन गर्ने निर्णय गरेको हो । विद्यालय एकीकृतको लागि चैत्र ४ गते गाउँपालिका भित्रका सबै विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहितको बृहत छलफल गरी समायोजन सहितको खाका तयार गर्ने गाउँपालिकाले जनाएको छ ।
कार्यपालिकाको बैठकले हेवि इक्विपमेन्ट संचालन तथा मर्मत सम्हार कार्यविधि पारित गरेको छ । कफि खेती सम्बन्धि कार्यशाला सञ्चालन गर्ने, टपरी उद्योग संचालनको लागी सुचना आह्वान गर्ने, जनजाति लक्षित कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
बैठकले गाउँपालिकाको गौरवको योजनाको रुपमा जैवगर–बायदिप–जलजला–रणसिंह सडकको लागी १ करोड ८० लाख विनियोजन गर्ने, नयाँ शैक्षिक सत्रमा प्रत्येक वडाका १/१ विद्यालयमा मगर भाषा कक्षा सञ्चालन गर्ने जसको लागी १÷१ जना मगर भाषा शिक्षकको व्यवस्था गाउँपालिकाले गर्ने निर्णय गरेको छ ।
बैठकले गाउँपालिका भित्र शिक्षक सेवा पुरस्कारको लागी छनौट समिति गठन गरेको छ । जसको संयोजकमा– ३ का अध्यक्ष तथा शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास संयोजक खड्क पुन रहनु भएको छ भने सदस्य– १ का अध्यक्ष बोम बहादुर थापा, वडा नं. ५ का अध्यक्ष अर्जुन खरेल, कार्यपालिका सदस्य केशमाया छन्त्याल र सदस्य सचिवमा शिक्षा शाखाका अधिकृत प्रकाश बहादुर क्षेत्री रहनुभएको छ ।
पालिका अध्यक्ष मेहरसिंह पाइजा संयोजक, उपाध्यक्ष अम्मर बहादुर श्रीस सदस्य र प्रमुख प्रशासकिय अधिकृत बालकृष्ण सुवेदी सदस्य रहेको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत विद्यालय छनौट गर्ने समितिको गठन गरेको छ ।
बैठकले एसइइ परीक्षामा उत्कृष्ठ हुने विद्यार्थी र विद्यालयलाई सम्मान गर्ने निर्णय पनि गरेको छ । उत्कृष्ठ हुने पालिका भित्रको विद्यालयलाई १ लाख नगद सहित सम्मान गर्ने गाउँपालिकाले जनाएको छ ।