कक्षा कोठा अभावमा शैक्षिक सामाग्री राख्ने ठाउँ भएन

हेम विश्वकर्मा, बागलुङ / प्रकाशित मिति :
शनिबार, चैत्र १ २០७६

बागलुङको बडिगाड गाउँपालिका ३ सिसाखानी स्थित कञ्चनापुर आधारभुत बिद्यालयमा कक्षाकोठा अभाव हुँदा शैक्षिक ब्यबस्थापन तथा पठनपाठनमा समस्या भएको छ ।
बि.स. २०३६ सालमा स्थापना भएको उक्त बिद्यालयले चालु शैक्षित्र सत्रदेखि कक्षा ७ को पठनपाठन सञ्चलान गरिरहेको छ । आगामी शैक्षिक सत्रदेखि कक्षा आठ पठन पाठन गर्ने योजना बनाएको विद्यालयलाई कक्षा कोठाको अभाव खड्किएको छ ।
विद्यालयमा एउटा पनि कोठा खाली नभएको बिद्यालयका प्रद्यानाध्यापक पुनराम गिरीले जानकारी दिनुभयो । बिद्यालयलाई तत्कालै दुई वटा कोठा आवश्यक रहेको प्रधानध्यापक गिरीले बताउनुभयो । बिद्यालयकै एउटा कोठामा बालशिक्षा सञ्चालित रहेको र एउटा पनि बाँकी कोठा नभएको जानकारी दिदै प्रध्यानाध्यापक गिरीले कक्षा आठको पठन पाठन खुल्ला आकाशमा संचालन गर्नुको विकल्प नभएको बताउनुभयो ।


विद्यालयमा १ सय ४२ जना विद्यार्थी अध्ययनरत रहेका छन् । चालु आर्थिक बर्षमा शिक्षा तथा समन्वय इकाइ र गाउँपालिकाको सहयोगमा ४ कोठे भवन निर्माण गरिएको थियो । अहिले विद्यालयमा ८ वटा मात्र कक्षाकोठा छन् ।
कक्षा कोठा थप गर्नका लागि स्थानिय पालिका, प्रदेश सरकार र संघिय सरकार समक्ष माग गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनप्रसाद शेरचनले बताउनुभयो । विद्यालय भवनको अभाव पुरा गर्न कुनै कसर बाँकी नराख्ने वडाध्यक्ष खडक पुनले बताउनुभयो ।
साबिक सिसाखानी गाबिस को वडा नं ७, ८ र ९ मा पर्ने सो क्षेत्रमा दलित समुदायको बाहुल्यता रहेकाले त्यहाँको चेतनास्तर बृद्धिका लागि पनि शैक्षिक बिकास गर्न जरुरी रहेको उहाँको भनाइ छ ।
उक्त विद्यालयको पूर्वाधार निर्माणमा सहयोग र समन्वय गरिने गाउँपालिकाले समेत जनाएको छ । कक्षाकोठा अभावमा बालबालिकाको पढाइ प्रभावित हुन नहुने अभिभावकहरुको माग छ ।