प्रशासन कार्यालय, म्याग्दीद्धारा कोरोना भाइरस विरुद्ध सतर्कता अपनाउन अनुरोध

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, फाल्गुन ३០ २០७६

छिमेकी मुलुक चीनको वुहान शहरबाट फैलिएर विश्वव्यापि रुपमा महामारीको रुप लिएको कोरोना भाइरस विरुद्ध म्याग्दीमा पनि संक्रमण फैलन नदिन सतर्कता अपनाईएको छ ।
जिल्ला प्रशासन कार्यालयले जिल्लामा मेला महोत्सवहरु नगर्न र अनुमति नदिन स्थानीय तहहरुलाई अनुरोध गरिसकेको छ । विदेशबाट नेपालमा आउने व्यक्तिहरुबाट जुनसुकै समयमा पनि कोरोनाको भाइरस भित्रन सक्ने जोखिम रहेकाले मानिसहरुलाई बाहिर हिँडडुल गर्दा माक्सको प्रयोग गर्न र साबुन पानिले राम्रोसंग हात धुने बानिको विकास गर्न स्वास्थ्यकर्मीहरुले सुझाब दिएका छन् ।
सरकारको निर्णय बमोजिम म्याग्दीमा पनि जिल्ला प्रशासन कार्यालयले मानिसहरुको ठुलो जमघट तथा भेला हुने मेला, महोत्सव तथा प्रदर्शनी, सार्वजनिक कार्यक्रम लगायतका कार्यक्रमहरुलाई अर्को सूचना जारी नभएसम्मको लागी नगर्न नगराउनको लागि सबै स्थानीय तह र सरोकारवालाहरुलाई आह्वान गरीसकेको छ ।
कोरोनाको संक्रमणलाई कतैपनि फैलन नदिनु नै अहिलेको प्रमुख दायित्व रहेकाले यसको पूर्वसतर्कतामा जुट्नुपर्ने प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो । उहाँले कोरोनाको संक्रमणको लक्षण देखिँदा साथ विरामीलाई अस्पतालमा पु¥याउनुपर्ने र अत्याबश्यक बाहेकका धेरै मानिसहरु जमघट हुने कार्यक्रमहरुलाई रोक्नका लागि सम्बद्ध निकाय र सरोकारवालाहरुमा आह्वान गरिएको बताउनुभयो ।
म्याग्दीमा कोरोनाका लक्षण कसैलाई देखिएमा उनीहरुलाई मात्रै छुट्टै राखेर उपचार गर्ने व्यवस्थापनको लागि आबश्यक तयारीमा जुटेको बेनी अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । उहाँका अनुसार, गण्डकी प्रदेश सरकारसंगको छलफल र सहकार्य गरि क्वारेन्टाइन र आइसोलेसन वार्डको कसरी व्यवस्थापन गर्ने भन्ने टुंगोमा पुगिने बताउनुभयो ।
अहिले प्रहरीको अगुवाईमा विभिन्न स्थानमा कोरोना भाइरसको लक्षण, बच्नुपर्ने उपाए र सावधानीहरुको बारेमा माईक मार्फत सन्देश मुलक प्रचार प्रसार र स्वास्थ्य कार्यालयको अगुवाईमा स्थानीय सञ्चार माध्यम मार्फत सचेतनामुलक सन्देश मार्फत सर्व साधारणलाई सजक र सचेत बनाउन सुरु गरि सकिएको छ ।
शिक्षा मन्त्रालयले विद्यालयमा विद्यार्थिहरुको जमघट हुने भएकाले छिटो विद्यालयको पठनपाठनलाई रोक्नका लागि विद्यालय स्तरीय परिक्षालाई समेत चैत ५ गतेभित्रै सक्न सूचना जारी गरिसकेको छ । मन्त्रालयको आह्वान अनुसार, म्याग्दीका सबै स्थानीय तहमा सामुदायिक र नीजि विद्यालयहरुको परिक्षा तालिकालाई फेरबदल गरिएको छ ।
अधिकाँश विद्यालयहरुले चैत ५ भित्रै परिक्षालाई सक्ने योजना सहित फागुन अन्तिम साताबाटै परिक्षा सञ्चालन गरेका छन् । यद्यपी माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) भने पूर्व निर्धारित मितिबाटै हुने छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै एसइई परीक्षा ६ चैतदेखि नै हुने जनाएको हो ।