उपाध्याय स्मृती कोषबाट दुई विद्यार्थी पुरस्कृत

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
मंगलबार, फाल्गुन २០ २០७६

स्वर्गीय टंकनाथ लिलावती उपाध्याय स्मृती सेवा कोषबाट बागलुङका दुई विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पुरस्कृत गरिएको छ ।
उपाध्यायका छोरा पुनम शर्मा एवं उहाको परिवारले आफ्ना बुवाआमाको स्मृतीको स्थापना गरेको कोषबाट पहिलो बर्ष दुई विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको हो ।
बागलुङ नगरपालिका–३ रात्डाँडामा जन्मिनुभएका उपाध्याय धार्मिक तथा सामाजिक क्षेत्रमा क्रियाशिल हुनुहुन्थ्यो । कोषले बागलुङ नगरपालिका–४ फेदीमा रहेको श्री मुक्तिनाथ वेद विद्याश्रम संस्कृत पाठशालामा कक्षा ६ मा अध्ययनरत सिद्धान्त पौडेल र बानपा–४ मा रहेको बागलुङ विशेष बाल कक्षा प्रा.वि उपल्लाचौरमा अध्ययनरत सुस्मा घर्तिलाई नगद ५ हजार रुपैँया सहित पुरस्कृत गरिएको हो ।
कार्यक्रममा जेष्ठ नागरिक दिव्यधर आचार्यले शैक्षिक क्षेत्रको विकासका लागि विद्यार्थीलाई प्रोत्साहित गर्नुपर्ने बताउनुभयो । प्रतिभावान विद्यार्थीहरुलाई समय समयमा पुरस्कृत गर्नुपर्ने एवं व्यवहारिक शिक्षा दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले उपाध्याय आफ्नो जिवनभर सामाजिक क्षेत्रमा क्रियाशिल रहेकाले उहाको सिको सबैले गर्नुपर्ने बताएका थिए । कार्यक्रममा समाजसेवी देबबहादुर श्रेष्ठ, धौलागिरि साहित्य प्रतिष्ठान बागलुङका अध्यक्ष काजी रोशन, लालचन्द्र राजभण्डारी लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम कोषका अध्यक्ष हरि प्रसाद उपाध्यायको अध्यक्षता, कोषाध्यक्ष मिना शर्माको स्वागत र उपाध्यायका छोरा पुनम शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।