स्वयंसेवक शिक्षक हुन चाहनेका लागि शिक्षा मन्त्रालयले आवेदन खुलायो

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
शनिबार, फाल्गुन १७ २០७६

स्वयंसेवक शिक्षक हुन चाहनेका लागि शिक्षा मन्त्रालयले आवेदन खुलाएको छ ।
सामुदायिक विद्यालयहरुले झेल्दै आएको विषय शिक्षक अभाव कम गर्ने गरी शिक्षण स्वयंसेवक परिचालन कार्यविधि पारित गरेसँगै शिक्षा तथा मानव श्रोत विकास केन्द्रले आवेदन खुलाएको हो ।
देशभर रहेका ७ सय ५३ स्थानीय सरकार मध्ये ६ सय ४८ मा स्वयंसेवक परिचालन गरिने छ । शिक्षक दरबन्दी नभएका वा अँग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अपुग भएका सामुदायिक विद्यालय एवं प्राविधिक धारको शिक्षा सञ्चालन गरेका विद्यालयहरुमा स्वयंसेवक खटाईने छ । यसो गर्दा १०५ बाहेकका स्थानीय तहमा खटाउनु पर्ने भएको केन्द्रले जनाएको छ ।
स्वयंसेवक शिक्षक हुन चाहनेका लागि लाईसेन्स नभए पनि हुने व्यवस्था गरिएको छ । स्वयंसेवक शिक्षक हुन चाहनेले फागुन २५ गते भित्र आवेदन दिन सक्ने छन् ।
युवाहरुलाई देश निर्माणमा प्रत्यक्ष योगदान गर्ने अवसर प्रदान गर्न भन्दै सरकारले आफ्नो नीति तथा कार्यक्रममा घोषणा गरेको चिनौं आफ्नो माटो बनाऔं आफ्नो देश अभियान अन्र्तगत स्वयंसेवक परिचालन गर्न लागिएको हो । उक्त अभियान कार्यान्वयन गर्न निर्माण गरिएको कार्य्विधिमा स्वयंसेवक हुन चाहनेका लागि निर्धारण गरिएको योग्यता पुगेकाहरुले आवेदन दिन सक्ने छन् ।
मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा कम्तमिा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको १८ बर्ष पुरा भई ४० ननाघेको नेपाली नागरिक स्वयंसेवक हुन योग्य हुन्छ ।
स्वयंसेवक युवाले सातामा कम्तीमा २४ पिरियड पढाउनुपर्नेछ भने मासिक पारिश्रमिक स्नातक तह उत्तीर्णले २४ हजारदेखि ३० हजार रुपैयाँसम्म र स्नातकोत्तर उत्तीर्णले २६ हजारदेखि ३२ हजार रुपैयाँसम्म पाउनेछन् ।
उनीहरूले मासिक एक दिन भैपरी आउने बिदा वा पर्व बिदा पाउने कार्य्विधिमा उल्लेख छ । स्नातकले कक्षा ६ देखि ८ सम्म र स्नातकोत्तरले ९–१२ सम्म पढाउनुपर्नेछ । औपचारिक परीक्षा तथा निरन्तर विद्यार्थी मूल्यांकन प्रणालीलाई प्रयोग गरी अध्यापन गर्नुपर्नेछ ।
बागलुङको बागलुङ नगरपालिका, ढोरपाटन नगरपालिका, काठेखोला गाउँपालिका, ताराखोला गाउँपालिका, बरेङ्ग गाउँपालिका, बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका, गल्कोट नगरपालिकामा स्वयसेवक शिक्षक खटाउन सकिने आवेदनमा उल्लेख गरिएको छ ।