‘रिटायर लाईफ’ लाई अझै सक्रिय बनाउन क्याफे संचालन

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
शनिबार, फाल्गुन १७ २០७६

बागलुङ नगरपालिका–९ तित्याङका रमेश खडकाले रिटायर लाईफलाई अझै सक्रिय बनाउनु भएको छ ।
खडकाले बागलुङ बजारमा शुक्रबारदेखि २५ लाख रुपैयाँ लगानीमा सुसारा बेन्स कफि सप संचालनमा ल्याउनुभएको हो । खड्काले आफ्नो साला बाजेका सेकुवाका सिइओ सुशिल खड्का र दिदीका छोरा सागर थापासँग सहकार्य गरेर कफि सप संचालनमा ल्याउनुभएको हो ।
आफ्नै जिल्लामा लगानी गर्नुपर्ने र यहाँका युवाहरुलाई रोजगारी सिर्जना गर्ने सोचका साथ क्याफे संचालनमा ल्याएको बताउनुभयो । खड्काले क्याफेमा ५ जनालाई रोजगारी दिएको जानकारी दिनुभयो । क्याफेमा कफि, चिया, बर्गर, मःमः, चिकेन विर्यानी, भेज विर्यानी लगायतका खाजाका परिकारहरु पाइन्छ ।
क्याफेको उद्घाटन उद्योग बाणिज्य संघ बागलुङका अध्यक्ष युवराज राजभण्डारीले गर्नु भएको थियो । उद्घाटन पछि बोल्दै राजभण्डारीले व्यवसायीहरुले कर माथि कर तिर्नुपर्दा व्यापार घट्दै गएको बताउनुभयो ।
अध्यक्ष राजभण्डारीले बागलुङमा पञ्चकोट, कडुँलेको शालिग्राम संग्राहलय र बा.न.पा.–१ बाङ्गेचौरदेखि कुश्मा नगरपालिका–१ पाङ जोड्ने निर्माणाधिन नेपालकै लामो झोलुङ्गे पुलले पर्यटकहरु बढाइरहेको अवस्थामा क्याफेहरु संचालन हुनु सकरात्मक रहेको बताउनुभयो ।
खड्काले दुई बर्ष अघिदेखि बागलुङ बजारमा पहिलो पटक प्याकिङ्ग फ्रोजन मःमः कम्पनी संचालन गर्दै आउनुभएको छ । उहाँले सुरुवातमा ३ लाख लगानीमा धौलागिरी बहिरा विद्यालयका २५ जना विद्यार्थीहरुलाई मःम बनाउने र प्याकिङ्ग गर्ने तालिम दिएको र तिनीहरुलाईनै पार्ट टाइम रोजगार सिर्जना गरेको जानकारी दिनुभयो । बहिरा विद्यार्थीहरुले अहिले आफ्नै रेष्टुरेण्ड संचालन गर्ने सोच राख्दा आफुलाई खुसी लागेको व्यवसायी खड्काले बताउनुभयो ।
मःम कम्पनी र क्याफेमा गरी १ करोडको लगानी गरेको खड्काले बताउनुभयो । अहिले धेरै युवाहरु पैसा कमाउनको लागि विदेश पलायन भइरहँदा नेपाल र आफ्नै घर ठाउँमा व्यवसायी गरि कमाउन सकिन्छ भन्ने हौसला प्रदान गर्नको लागि व्यवसाय संचालन गरेको खड्काले बताउनुभयो ।
कम्पनीमा उत्पादन भएका मःम बागलुङ बजारसहित छिमेकी जिल्ला पर्वत, म्याग्दी, मुस्ताङ, गुल्मी र बागलुङकै गल्कोट बजार, बुर्तिबाङ बजारमा दैनिक ६ सय पिलेट विक्री हुँदै आएको छ । फ्रोजन मःम चिकेनको ६०, माछाको ७०, मटनको १०० र भेजको ४५ रुपैयाँमा रेष्टुरेण्ड र होटलहरुलाई उपलब्ध गराउँदै आएको खडकाको भनाई छ ।
मःम कम्पनीमा १५ जना र क्याफेमा ५ जना गरी २० जनालाई रोजगारी दिनु भएका खड्काले मासिक ५ लाख रुपैयाँको आम्दानी हुने र सो रकम कर्मचारी र घरभाडामा खर्च हुने बताउनुभयो । आफुले नाफा कमाउन भन्दा पनि जिल्लामा नमुना काम गर्न सोचका साथँ व्यवसाय संचालन गरेको बताउनुभयो ।
४० बर्षका खड्का २ वर्ष अगाडी भारतीय सेनाको हवल्दार पदबाट रिटायर हुनु भएको थियो । क्याफे उद्घाटन कार्यक्रम व्यवसायी रमेश खड्काको अध्यक्षता र पत्रकार अनिश खातीको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा पत्रकार महासंघका पूर्वध्यक्ष राजेशचन्द्र राजभण्डारीले बोल्नुभएको थियो ।